• १२ मंसिर २०८१, बुधबार

मेयर बालेनका एक वर्ष

blog

हाम्रो नगरमा पहिले हामी गरौँ ! अरूले पछि गर्लान्, अहिले हामीले गरौँ ! आजसम्म दलले गरे, अब बदल्नेले गरौँ ! यही प्रतिबद्धतासहित बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको बागडोर सम्हालेको करिब एक वर्ष बितिसक्यो । महानगरवासीका धेरै अपेक्षामध्ये बालेनले एक वर्षको अन्तरालमा गरेका केही कार्यले भने काठमाडौँवासी उत्साहित देखिन्छन् । विगतमा राजनीतिक दलबाट निर्वाचित भएका मेयर राजनीतिक दाउपेचमा मात्र रुमलिरहेको आभास हुन्थ्यो । बालेनले प्रमुख पदमा रहँदा एक वर्षको समयमा जे जति गर्नुभयो, त्यसलाई सकारात्मक नै मान्नु पर्छ । 

मेयर निर्वाचित भएलगत्तै उहाँ काठमाडौँको फोहोर व्यवस्थापनमा लाग्नुभयो । महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन गरिने नुवाकोट जिल्लामा पर्ने स्थानका स्थानीयवासीले विभिन्न माग राख्दै अवरोध गरेपछि उपत्यकामा कैयौँ दिनसम्म फोहोर उठ्न नसक्दा उहाँ विवादमा पनि तानिनुभयो । अन्ततः लामो रस्साकस्सीपछि नुवाकोटको सिसडोलवासीसँगको सहमतिपछि काठमाडौँको फोहोर उठ्यो । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नुपर्ने नियम बनाइनु फोहोर व्यवस्थापनका लागि सहज हुने भए पनि त्यसको कडाइका साथ लागु भएको भने देखिएको छैन । मेयरमा निर्वाचित भएसँगै उहाँले होटल, रेस्टुराँ, वित्तीय संस्थालगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गराउनुभयो । मेयर शाहको घोषणापछि काठमाडौँ उपत्यका र बाहिरका एकाध रेस्टुराँमा स्वतःस्फुर्त रूपमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउनुभयो । 

यही एक वर्षको अन्तरालमा सङ्घीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने निर्णयले पनि बालेन चर्चामा रहनुभयो । विगतमा केन्द्रीय सरकारको इसारामा चल्ने काठमाडौँ महानगरले यस पटक भने सरकारलाई नै चुनौती दिनुलाई पनि धेरैले सकारात्मक कार्य भनेर टीकाटिप्पणी गरे । केन्द्रीय सरकारले कामपालाई साथ नदिने हो भने केन्द्रीय सरकार नै अन्यत्र सारे हुने तितो पनि पोख्नुभयो उहाँले । कसैले के भन्यो भन्दा पनि आफ्नो कार्यक्षेत्र र आफ्नो काममा निडर भएर लागिरहने बालेनका सामाजिक सञ्जालमा स्टाट्सले भने वर्षभरि नै चर्चा कमायो । उहाँले सामाजिक सञ्जालमा मात्र लेख्नुभएन, केही काम गर्न खोज्नुभयो र छोटो समयमा धेरै देखिने र नदेखिने गरी धेरै कार्य गर्नुभयो । 

फुटपाथ व्यवस्थापन र त्यस व्रmममा फुटपाथमा व्यापार गर्नेहरूमाथि नगर प्रहरीले गरेको व्यवहारले केही आलोचित बने पनि धेरैले उहाँको यस कार्यमा साथ दिए । नगर प्रहरीले साना व्यापारीका सामान फाल्नेदेखि जबरजस्ती ठेलागाडा एवं सामान जफत गर्ने गरेका भिडिओ सामाजिक सञ्जालमा चर्चित बन्न पुग्यो । फुटपाथका लागि छुट्याइएको क्षेत्रमा व्यापार गर्नेहरूप्रति कडा नीति लिनुभएका मेयरले नगर प्रहरीलाई त्यस्ता व्यापारीलाई हटाउने निर्देशन दिनुभयो । जसका कारण अहिले काठमाडौँका धेरै भित्री सडकमा फुटपाथ व्यवसाय व्यवस्थित बन्ने व्रmममा रहेको देखिन्छ । 

भूमिगत पार्किङमा बनेका संरचना भत्काउन थालेपछि यसको समर्थन र विरोधमा लामो समयसम्म चर्चा पायो । भूमिगत पार्किङको स्वीकृति लिएर महानगरपालिकाबाट नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका भवन सञ्चालकलाई कारबाही गर्दा पनि मेयर शाहले आलोचना र प्रशंसा दुवै खेप्नुभयो । मेयर शाहले आफ्नै अगुवाइमा बानेश्वर क्षेत्रबाट अन्य प्रयोजनका लागि प्रयोग भएका भूमिगत पार्किङका संरचना भत्काउन सुरु गर्नुभयो । 

काठमाडौँका सडकमा हुने अव्यवस्थित पार्किङलाई हटाउनु निकै राम्रो कार्य मान्न सकिन्छ । अहिले दरबारमार्ग, बानेश्वरलगायतका मुख्य क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटाइएको छ; जसले पैदलयात्रीलाई सहज भएको देखिन्छ । यसरी सडकको पार्किङ हटाउँदा विभिन्न व्यापारिक मलले भने पार्किङमा चर्को रकम असुली गर्दै आएका छन् । अझै पनि कतिपय सरकारी कार्यालयमै सेवा लिन जाँदा पैसा तिरेर पार्किङ गर्नुपर्ने अवस्था छ, त्यसतर्फ पनि मेयर सचेत हुनुपर्ने देखिन्छ । 

काठमाडौँमा वर्षौंदेखि सुकुमवासीका नाममा नदी किनारामा जग्गा हडपेर बस्दै आएका बस्ती हटाउने प्रयासबारे पनि उहाँको चर्चा भयो । वर्षौंदेखि सरकारी जग्गामा भोगचलन गर्दै आएका सुकुमवासीको आँखामा आँसु देखिए पनि, आन्दोलन भए पनि उहाँको यस कार्यलाई सबैले सकारात्मक नै माने । विभिन्न समयमा बालेनले गर्नुभएका कामप्रति अदालतमा परेका उजुरी र बालेनले दिएका जवाफले पनि उहाँको प्रशंसा नै भयो । सुकुमवासी बस्ती हटाउने निर्णयमा पनि सरकार र विभिन्न मन्त्रीको सहमतिबिनै उहाँ अगाडि बढ्नुभयो । 

दशकौँ अगाडिदेखि टुकुचा खोला खोज्ने र खोलामाथि बनेका संरचना भत्काउने कार्य अघि बढाउने बालेनको अर्को महत्वपूर्ण कार्य हो । लामो विवाद, पटक पटक उजुरी र फैसलासँगै उच्च अदातल, पाटनले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिइसकेको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने पुनः प्रमाणित गरेको र नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको मेयरको टिप्पणी छ । 

अदालतको फैसलाबाट पनि टुकुचा खोलाको प्राकृतिक अधिकार पुनस्र्थापन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई सफलता मिलेको बुझ्न सकिन्छ । त्यसैले त अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्तिविशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रव्रिmया अगाडि बढाउने मेयर बालेनको तयारी छ ।

काठमाडौँ महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने निर्णयले पनि बालेन लोकप्रिय बन्नुभयो । पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापनको काम सुरु भइसकेको छ । काठमाडौँ महानगरलाई सुन्दर र हराभरा बनाउने अभियानमा पनि बालेनले प्रयास गर्नुभएको देखिन्छ । फुटपाथमा हिँड्ने पैदलयात्रीलाई सहज बनाउने उद्देश्यले सडकका रेलिङ बारको निर्माणका साथै रेलिङ बारमा काठमाडौँ महानगरको संस्कृति झल्कने र काठमाडौँ महानगरका सम्पदा झल्कने कलात्मक प्रिन्टिङले काठमाडौँ सुन्दर बन्दै छ । 

महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ, पोस्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, ब्यानर टाँस्ने माध्यमलाई अनुमति नदिने निर्णय पनि काठमाडौँ महानगरले गरिसकेको छ । निर्देशिका नै जारी गरेर सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न निषेध गरेको छ, जसले काठमाडौँलाई सुन्दर बनाउने अपेक्षा गर्न सकिन्छ । 

यस्तै बालेनले शिक्षा क्षेत्रमा पनि सुधार गर्न खोज्नुभएको छ । विद्यालयमा राजनीतिक गतिविधि बन्द गराउनेसहितको सूचना र निर्देशन जारी, हरेक शुव्रmबार विद्यार्थीलाई किताबमुक्त बनाउने अभियान सञ्चालन गर्ने, निजी विद्यालयले किताब र कपीका नाममा चर्को रकम असुल्दै आएकोमा यसरी विद्यालयले बेच्न नपाइने नियम लागुसमेत गरिएको छ । विद्यालयले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्नेलगायतका महत्वपूर्ण कार्य भएका छन् । 

बालेनले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गरे अनुसार पनि केही कार्यको सुरुवात एक वर्षको अन्तरालमै गर्नुभएको छ । उहाँले स्थानीय सरकारलाई डिजिटल सरकार बनाउने घोषणा गर्नुभएको थियो । त्यसै अनुरूप केएमसी एपको सुरुवात गरिसक्नुभएको छ । एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक बडापत्र, जनगुनासो, स्मार्ट करलगायतका सेवा प्रवाह दिने तयारी छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना आदिलाई ध्यानमा राख्दै सिसी टिभी जडानका लागि नेपाल प्रहरीलाई छ करोड रुपियाँ उपलब्ध गराइएको छ, जुन उहाँले आफ्नो चुनावी घोषणापत्रमा समेत उल्लेख गर्नुभएको थियो । 

मेयरमा निर्वाचित भएलगत्तै बालेनले सुरु गरेको नगर कार्यपालिकाको प्रत्यक्ष प्रसारणले पनि चर्चामा रहनुभयो । यस विषयमा विभिन्न टीकाटिप्पणी आए । उहाँको त्यस कार्यलाई कतिपयले सस्तो लोकप्रियता भने त कतिले खुलेरै प्रशंसा गरे । उहाँले काठमाडौँ महानगरपालिकामा कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याउनुभयो । महानगरसँग कुनै गुनासो गर्नु परेमा वा केही सोधपुछ गर्नुपरेमा निःशुल्क टेलिफोन नम्बरको व्यवस्था गरिएको छ । जसले नगरवासीले आफ्ना समस्या उक्त कल सेन्टरमा राख्न पाएका छन् । 

कर्मचारी तहबाट पनि आफूलाई जानकारीमा नभएको विषयमा विषयविज्ञ नियुक्त गरेर महानगरलाई समृद्ध बनाउने कार्यमा बालेन लागिरहेको देखिन्छ । कानुनी हिसाबले महानगरवासीलाई मुद्दामामिलाका विषयमा सहज होस् भनेर कानुन, न्याय तथा मानव अधिकार विभागका प्रमुखसमेत रहनुभएका सूचना अधिकारी एवं निर्देशक वसन्त आचार्यले प्रत्येक वडा तहमै कानुनी सहजकर्ता राख्ने प्रस्तावलाई नगरप्रमुखले कार्यान्वयनमा ल्याउनुभयो । अहिले कामपाका ३२ वटै वडाबाट कानुनी सहजकर्ताले स्थानीयलाई कानुनी परामर्श दिइरहेका छन् । यसले स्थानीयले आफ्ना विभिन्न मुद्दामामिलामा निःशुल्क परामर्श लिन सहज भएको छ । 

यसबाहेक काठमाडौँभरि निःशुल्क एम्बुलेन्स सेवा, करारका जागिरमा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता, काठमाडौँको नेवाः संस्कृतिको प्रचारप्रसार र निर्माण सामग्री सडकमा राख्न नपाउने नियम बनाइयो । यसै गरी मापदण्डविपरीत सञ्चालन भएका पेट्रोल पम्पहरूको सिलबन्दी, सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई दण्डित, ज्येष्ठ नागरिक स्वास्थ्य अवस्था अभिलेखनको थालनी, भाडामा लिनुपर्दा र दिनुपर्दा अनिवार्य सम्झौता र पार्क निर्माणलगायतका कतिपय कार्य एक वर्षमै गर्न खोज्नुभयो । यद्यपि अझै पनि बालेनबाट महानगरवासीका धेरै अपेक्षा रहेका छन् । जुन अपेक्षा पूरा गर्न बालेनले आफ्ना गतिलाई अझ बढाउनुपर्ने र कतिपय सुरु गरेका कामलाई पूर्णता र निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने चुनौती पनि उहाँसामु छन् । नागरिक हित हुने जुनसुकै काममा पनि उहाँलाई सबैले साथ र सहयोग दिनु पर्छ । 

लेखक पत्रकार हुनुहुन्छ ।   

Author

गोविन्द मरासिनी