• १२ मंसिर २०८१, बुधबार

इजाजत नलिई यातायात सञ्चालन

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ १९ गते । रुकुमपश्चिमका विभिन्न सडकखण्डमा बिनाअनुमति यातायातका साधन सञ्चालन गरिँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले रुकुमपश्चिमका साथै जाजरकोटका विभिन्न सडकमा अनुमति नलिई यातायातका साधन सञ्चालन हुँदै आएको जनाएको छ ।

यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले मध्यपहाडी राजमार्ग, भेरी कोरिडोरलगायत सडक र जिल्लाका अन्य ग्रामीण सडकमा चल्ने गाडीले रुट परमिट नलिएको बताउनुभयो । उहाँका अनुसार जाजरकोटको रिम्ना हुँदै रुकुमपश्चिमको राडीजिउला सडक, भेरी कोरिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलङ्गा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्यानको सल्लीबजार कैनकाँडा हुँदै चौरजहारी र मध्यपहाडी लोकमार्गलगायतका सडकमा सञ्चालन भएका यातायातका साधनले रुट परमिट नै लिएका छैनन् ।

यसका साथै जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले भाडादर कायम गरेका विभिन्न ३५ वटा ग्रामीण सडकमा पनि रुट परमिट नलिएर गाडी सञ्चालन हुने गरेको पाइएको कार्यालय प्रमुख चपाईले जानकारी दिनुभयो । कार्यालयले निगरानी गर्न थालेपछि उक्त कुरा पत्ता लागेको बताइएको छ । इजाजतपत्र नै नलिएर अधिकांश ठाउँमा सवारीसाधन चलिरहेकाले दुर्घटनाको जोखिम बढी भएको उहाँको भनाइ छ । यी सडकमा ठुला गाडी र जिप सञ्चालन हुने गरेका छन् । इजाजत नलिई सञ्चालन भएका सवारीसाधनले आफूखुसी भाडा उठाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रमुख चपाईले बताउनुभयो । चौरजहारीस्थित यातायात कार्यालयले ठाउँ ठाउँमा कार्यालयको टोली पुगेर सडकसम्बन्धी सचेतना जगाउने कामसमेत गरिरहेको छ । 

जिल्ला प्रशासन कार्यालयले पनि कानुनबमोजिम अनुमति लिएर मात्र यातायात सञ्चालन गर्न सवारीधनीलाई अनुरोध गरेको छ । यातायात कार्यालय, प्रहरी कार्यालय र ट्राफिक कार्यालयसमेतको समन्वयमा अनुगमन कार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । नियमविपरीत चलेका कुनै पनि सवारीसाधनलाई नियमानुसार कारबाही गरिने उहाँको भनाइ रहेको छ ।