काठमाडौँ, जेठ १४ गते । मत्स्यपालन व्यवसायीले दानाको मूल्य घटाउनका लागि नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन् ।
मत्स्यपालन क्षेत्रको उत्पादकत्व वृद्धि गर्नका लागि किसानलाई यान्त्रिकीकरणमार्फत दाना उपयोग गर्नका लागि सचेतनामूलक कार्यक्रमका साथै दानाको मूल्य घटाउनका लागि नीतिगत सुधार गर्नुपर्ने बताइएको छ ।
चितवनका माछा किसान हरिशरण पुरीले नेपालमा अब पाँच वर्षमा सञ्चालनमा आउने माछादाना उद्योगलाई कुल विद्युत् खपतको ५० प्रतिशत अनुदान दिँदा दानाको उत्पादन लागत मूल्य स्वतः कम हुने र त्यसबाट किसान लाभान्वित हुने बताउनुभयो ।
माछापालनप्रति किसानको आकर्षण बढ्दै गइरहेको छ । वार्षिक १० प्रतिशतका दलले माछा व्यवसायीको वृद्धि भइरहेको हुनाले सरकारले यो क्षेत्रप्रति थोरै मात्र ध्यान पु-यायो भने आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने अवस्थामा पुग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कुल गार्हस्थ उत्पादनमा माछाको योगदान ०.४४ र कृषि क्षेत्रमा १.८३ प्रतिशत रहेको छ । नेपालमा वार्षिक एक लाख चार हजार ६२३ मेट्रिक टन माछा उत्पादन हुन्छ । त्यसमध्ये ८० प्रतिशत व्यावसायिक रूपमा उत्पादन भइरहेको छ ।
विकसित राष्ट्रहरूमा माछा खपतको औसत प्रतिव्यक्ति प्रतिवर्ष २०.५ केजी रहेको छ भने अल्पविकसित राष्ट्रमा प्रतिव्यक्ति प्रतिवर्ष खपत ११ केजी रहेको छ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष खपत ३.४३ केजी रहेको तथ्याङ्कले देखाएको छ । प्रतिव्यक्ति खपत बढाउनका लागि उत्पादनमा वृद्धि गर्नुपर्ने माछा किसान पुरीले बताउनुभयो । किसानले माछा आयातलाई न्यूनीकरण गर्नसमेत माग गरेका छन् ।