गोरखापत्र समाचारदाता
काठमाडौं, जेठ १३ गते । क्यान्सरका कारण गत चैत २९ गते निधन हुनुभएकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको स्मृतिमा प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने भएको छ । उहाँको निधनको ४५ औँ दिनको पुण्यतिथिमा शनिबार उहाँका ८८ वर्षीय पिता देवीनाथ प्याकुरेललगायत परिवारजनले उहाँको नाममा प्रतिष्ठान गठन गर्ने घोषणा गर्नुभएको हो ।
प्रा.डा. प्याकुरेललाई लामो समयदेखि सघाउँदै आउनु भएका त्रिभुवन विश्वविद्यालयस्थित गणित विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलालाई प्रतिष्ठानको संयोजक प्रस्ताव गरिएको जानकारी प्याकुरेलका दाजु उद्धवप्रसाद प्याकुरेलले दिनुभयो । उहाँका अनुसार करिब एक महिनामा देश विदेशमा रहनु भएका नेपाली समुदायबाट ५६ लाख १४ हजार २२३ रुपियाँ सहयोग सङ्कलन भएको थियो । त्यसमध्ये सात लाख ६४ हजार ८५३ रुपियाँ खर्च भई बाँकी रहेको ४९ लाख १७ हजार ३७० रुपियाँमा नपुग रकम परिवारबाट थप गरी ५० लाख रुपियाँको अक्षय कोषसहितको प्रतिष्ठान घोषणा गरिएको परिवारका तर्फबाट राजेन्द प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अक्षय कोषबाट प्राप्त ब्याज र अन्य आम्दानीबाट प्रायोगिक गणितको क्षेत्रका अनुसन्धाता, साहित्यकार तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै क्यान्सर सचेतना अभियान सञ्चालन गरिने योजना रहेको छ ।
पुण्यतिथिका अवसरमा एक कार्यक्रमको आयोजना गरी उहाँको योगदानको स्मरण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्राध्यापक प्याकुरेलले आर्जन गरेजस्तै विद्वता, प्राज्ञिकतासहितको शिक्षतर्फ युवा वर्गको ध्यान आकर्षण गराउन प्रतिष्ठानले भूमिका निर्वाह गरोस् भन्ने शुभकामना दिनुभयो ।
प्याकुरेलको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक डा. राजेन्द्रप्रासद बरालले अन्य कामसँगै क्यान्सर सचेतनाका अभियान सञ्चालन गर्न सुझाउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागका प्रमुख प्रा.डा. धमलाले प्रतिष्ठानले प्याकुरेलका बाँकी सपना पूरा गर्न र उहाँका अप्रकाशित सङ्ग्रह प्रकाशनमा पनि सघाउने जानकारी दिनुभयो ।
गोरखापत्रका समाचारप्रमुख केदार भट्टराईले मधुश्री नामबाट साहित्यिक र उर्मिला प्याकुरेलका नामबाट प्राज्ञिक दुवै क्षमतासँगै देशका लागि केही गर्नुपर्छ भन्ने प्रण प्याकुरेलमा रहेको स्मरण गर्नुभयो ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले गाउँ गाउँमा क्यान्सर सचेतना जगाउनुपर्ने औँल्याउनुभयो । प्रा.डा. हेमराज पौडेल, पूर्व सांसद अरुण नेपाल, कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक दामोदर न्यौपानेलगायतले नेपालको शैक्षिक क्षेत्रका उहाँको विशिष्ट योगदानको चर्चा गर्नुभयो ।
प्याकुरेल पछिल्लो समय डिम्बासयको अन्तिम चरणको क्यान्सरको उपचार गराइरहनु भएको थियो । उहाँको उपचारका लागि अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गरिएको थियो ।