• ८ पुस २०८१, सोमबार

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : सभापति लामिछाने

blog

पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउनुहुँदै भ्रष्टहरूलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताउनुभएको हो ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने बताउनुभयो । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्नुहुँदै उहाँले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

‘‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन ।,’’ सभापति लामिछानेले भन्नुभयो, ‘‘नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन । नेता नभएर होइन । पार्टी नभएर होइन । झण्डा नभएर होइन, चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शङ्का लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पार्नुभयो । उहाँले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताउनुभयो ।