कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ १३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रूपमा विकसित गर्न नगरपालिकाले डस्टबिन वितरण गरेको छ । नगरलाई हरियाली र सफासुग्घर बनाउने अभियानस्वरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
सिद्धार्थनगर नगरपालिका –५ को कार्यालयले वडालाई सफा राख्न डस्टबीन वितरण गरेको छ । कार्यालयद्वारा शुक्रवार एक कार्यक्रमबीच वडामा सञ्चालित व्यावसायिक प्रतिष्ठानलाई डस्टबिन वितरण गरिएको सिद्धार्थनगर–५ का वडा अध्यक्ष पुरनप्रसाद श्रेष्ठले बताउनुभयो ।
सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न वडा कार्यालयले प्रयास गरेको बताउनुभयो । ‘वडा कार्यालय दर्ता भएका २ सय ५० वटा व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई डस्टबिन वितरण गरेका छौँ’ उहाँले भन्नुभयो–‘यसले वडा, नगरलाई सफा राख्न व्यावसायिक प्रतिष्ठानलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौँ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा ५ ले रचनात्मक कार्यहरू गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सडक–नालामा तथा जथाभाबी फोहर नफाल्न आग्रह गर्नुभयो ।
‘नगरवासीले फोहोरमैला ढल–नालामा फाल्ने गर्दा ढल–नाला जाम हुने र वर्षाको समयमा नगरवासीलाई समस्या पर्ने हुँदा कसैले पनि ढल–नालामा फोहोर नफाल्नुहोस्’ उहाँले भन्नुभयो– ‘नगरलाई सुन्दर र सफा राख्ने दायित्व नगरपालिकाको मात्र नभई हामी सबै नगरवासीको पनि हो, हामी सबै मिलेर नै नगरपालिकालाई नमुना बनाउने हो ।’
सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउन नगरपालिकालाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले सबैको भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो ।
नगर उपप्रमुख उमा अधिकारीले डस्टबीन सङ्कलन गरिएको फोहर सडकमा नभई नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गर्नुभयो । ‘सरसफाइ अभियानमा सबै मिलेर अघि बढौँ’ सिद्धार्थनगर वडा ५ ले सराहनीय कार्य गरिरहेको उहाँको भनाइ छ । भैरहवा मर्निङ वाक ग्रुप अध्यक्ष ओमकार गौचनले वडा ५ वडा कार्यालयले गरेको कार्यबाट वडावासीले गर्वको अनुभूति गरिरहेको बताउनुभयो ।
सिद्धार्थनगर–५ का वडा सदस्य प्रेमनारायण गुप्ताले डस्टबीन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हराभरा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडा सदस्य प्रेमनारायण गुप्ता, सरस्वती श्रेष्ठ लगायतले सरसफाइ अभियानले नगरको सुन्दरता बढाएको बताउनुभयो ।