काठमाडौं, जेठ १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले वैदेशिक श्रमसम्बन्धी सबै कामहरू पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताउनुभयो ।मन्त्री भण्डारीले आफैँले बोल्ने वाक्यहरूले आफैँलाई पिरोल्ने गरेको बताउनुभयो । उहाँले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको जानकारी दिनुभयो ।
‘‘हामीले श्रमको क्षेत्रलाई यसलाई डिग्रिफायर गर्नुपर्छ । मर्यादित, सम्मानित कसरी बनाउने ? यसलाई सुरक्षित कसरी गर्ने ? सरकारले लिएको लक्ष्य र मन्त्रालयको उद्देश्य पनि त्यही नै हो । मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरादेखि यदि यसलाई सुव्यवस्थित हिसाबले सुरक्षित र भरपर्दो हिसाबले इमान्दारीपूर्वक अघि बढाउने हो भने सबैको राम्रो छ ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘म एउटा कुरा बारम्बार भन्ने गर्छु, अलि चर्को बोल्दिन्छु, त्यसकारण आफ्नो बोलीले आफैँलाई नै बेलाबेलामा अप्ठ्यारो पार्ने गर्छ । अस्ति मैले कता बोलेँ, मैले के बोलेँ भने यो श्रम तथा रोजगार मन्त्रालय हो, यसले श्रमिकले पाउने सुविधा र समस्या हेर्नुपर्ने हुन्छ तर अहिले मन्त्रालयले धेरैभन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेका छौँ ।’’
मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको औँल्याउनुभयो । उहाँले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमिकहरूका लागि राम्रो अवसर हुने बताउनुभयो । उहाँले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने की नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ । त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ की क्या हो भनेको, ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो । बोल्दा धेरै अप्ठ्यारो हुने गर्दो रहेछ । हामीले अहिले चर्को हिपोक्रेटी कुरा गरेर केही पनि फाइदा छैन । अहिलेको ग्लोवलाइजेशनको फाइदा हामीले लिनुपर्छ । हामीले यसलाई अवसरका रूपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ ।’’
मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताउनुभयो ।