• ५ जेठ २०८१, शनिबार

एथ्लेटिक्सतर्फ चितवनका सुजित र मकवानपुरकी डिना उत्कृष्ट खेलाडी

blog

एथ्लेटिक्सतर्फ च्याम्पियन बनेको चितवनको टिम । तस्बिर : गोरखापत्र

राममणि दाहाल 

हेटौँडा, जेठ १० गते । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ चितवनका सुजित महतो र महिलातर्फ मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

सुजितले तीन स्वर्ण र एक रजत पदक जित्नुभएको छ । यस्तै डिनाले दुई स्वर्ण र एक रजत जित्दै एथ्लेटिक्स बागमती प्रदेशको उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो ।

यसैबीच हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा बुधबार सम्पन्न एथ्लेटिक्सको सय मिटर दौडमा महिलातर्फ मकवानपुरकी डिना गोपाली र पुरुषतर्फ काठमाडौँका सहनचन्द्र शाहले स्वर्ण पदक जित्नुभएको छ । 

सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्डमा उक्त दुरी तय गर्नुभएको थियो । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कास्य पदक तथा महिलामा भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।

महिलातर्पm दस हजार मिटर दौडमा सिन्धुपाल्चोककी निनु तामाङले ४७.१ मिनेटमा उक्त दुरी पार गर्दै स्वर्ण पदक हात पार्दा दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कास्य पदक प्राप्त गर्नुभयो ।

यसै विधाको पुरुषमा सिन्धुपाल्चोकका मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्ड दुरी पूरा गरी स्वर्ण जित्नुभएको छ । काठमाडौँका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल हुनुभयो ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण, ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जित्नुभयो । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गर्नुभएको छ भने काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जित्नुभएको छ ।

चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानमा रह्यो । पुरुषमा सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जितेका छन् । पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण, चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाउनुभएको छ ।

महिलातर्फ चितवनकी आसिका गुरुङलेस्वर्ण प्राप्त गर्दा काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जित्नुभयो । जाभ्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले स्वर्ण, रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल हुनुभएको छ ।

पुरुषमा पनि चितवनकै दीपेश महतोलाई स्वर्ण पदक प्राप्त गर्ने सफलता मिलेको छ भने मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जित्नुभएको छ ।

प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र नौ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जितेका छन् ।