• २८ पुस २०८१, आइतबार

संसदीय बैठक प्रणाली सम्बन्धी तालिम

blog

संसदीय बैठक सञ्चालन सम्वन्धी तालिममा सहभागी वालिङका जनप्रतिनिधिहरु । तस्विर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, जेठ ८ गते । वालिङ नगरपालिकाका जनप्रतिनिधिहरूलाई संसदीय बैठक प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । वालिङ जेसीजको आयोजनामा जनप्रतिनिधिहरूलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा प्रशिक्षण गराइएको हो। 

कार्यक्रममा नेपाल जेसीजका १९९७ का राष्ट्रिय अध्यक्ष रवीन्द्र कुमार कर्णले बैठक के हो, बैठक कसरी सञ्चालन गर्ने, सफल बैठक कसरी आयोजना गर्न सकिन्छ, संसदमा कसरी प्रस्तुत हुने तथा सभामा सभामुखको अध्यक्ष र सदस्यको भूमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तालिमबाट आफूलाई बैठक सञ्चालन सम्बन्धी राम्रो जानकारी प्राप्त भएको वडा नं. ११ का अध्यक्ष डण्डपानी पङ्गेनीले जानकारी दिनुभयो । निर्वाचित भएको एक वर्षपछि पाएको बैठक सञ्चालन सम्बन्धी तालिम निक्कै प्रभावकारी भएको उहाँको भनाइ छ ।

तालिममा वालिङ नगरपालिकाका जनप्रतिनिधिहरू, वालिङ, गल्याङ र भिरकोट जेसीजका सदस्यहरूको सहभागिता रहेको वालिङ जेसीजका अध्यक्ष मणिप्रसाद अर्यालले जानकारी दिनुभयो । 

नेपाल जेसीजका उपाध्यक्ष तथा वालिङ जेसीजको लागि निरूपित राष्ट्रिय उपाध्यक्ष चन्द्रमणि भुसालले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि नेपाल जेसीजले पूर्ण सहयोग रहँदै आएको बताउनुभयो । 

संसदीय बैठक प्रणाली तालिमले जनप्रतिनिधिहरूका लागि प्रभावकारी भएको वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत तेजराज शर्मा जानकारी दिनुभयो ।