• १३ वैशाख २०८१, बिहिबार

नियात्रा र संस्मरण मिश्रित सुन्दर फूल

blog

उर्वर विधा नियात्राको लहरमा एउटा अर्को रोचक र ज्ञानवद्र्धक नियात्रा र संस्मरणको सङ्ग्रह थपिएको छ– विजय चालिसेको ‘मरुभूमिको फूल’ ।  मूलतः कथाकारको रूपमा सुपरिचित चालिसेका यसअघि विविध विषयका छ दर्जन पुस्तक प्रकाशित छन् । 

कृतिको पहिलो खण्डमा नियात्रा र दोस्रो खण्डमा संस्मरण छन् । अवसर र साधन–सामथ्र्यले भ्याएसम्म घुम्नु, लेख्नु र विगतका सम्झनाहरूलाई सुरक्षित राख्ने प्रयास गर्नु मेरो रुचिको विषय हो भन्ने लेखकको भनाइलाई मनन गर्दा साँच्चै नै उहाँमा यो रुचि अद्भूत देखिन्छ । कृतिको पहिलो नियात्रा ‘श्रीभावर लेकमा मृत्युस्पर्श’ले यसको पुष्टि पनि गर्छ । सुदूरपश्चिम जिल्लाका हिमाच्छादित तारेभीरको यात्रा कम रोमाञ्चक छैन । हिउँमा कहीँ चार हातखुट्टा र कहीँ बुट्यान समात्दै ज्यान जोगाएको प्रसङ्ग आउँदा पाठकको मन नै सिरिङ्ग हुन्छ । २८ वर्षअघि २८ वर्षकै उमेरमा गरिएको यो रोमाञ्चक यात्रासँगै त्यो बेलाको बझाङी समाजको सम्भ्रान्त दम्भ पनि लेखकले उदाङ्गो पारिदिनु भएको छ । यसैगरी राष्ट्रिय विकास सेवामा डोटी गएर डोटेली समाजको आर्थिक–सामाजिक तथा लोकसंस्कृति र साहित्यबारे मिहिन ढङ्गले अध्ययन गर्न पाएको प्रसङ्ग ‘मेरो सम्झनामा डोटी’ नियात्रामा रहेको छ । 

पुष्पलाल स्मृति पार्कमा निर्माण गरिने गोपालप्रसाद रिमालको सालिक शिलान्यासका साथै कथाकार नवराज शर्मा तिमिल्सिनाको कथासङ्ग्रह ‘मट्याइलो सुगन्ध’को लोकार्पणमा हेटौँडा गएको वृत्तान्त ‘हेटौँडामा क्रान्तिद्रष्टाको सालिक’मा छ । यस्तै मुक्तिनाथ जाँदा श्रीमतीलाई लेक लागेर हावाईजहाजबाट फर्कनुपरेको तर आपूm सवार हवाईजहाजको कम्पनीले पैसा तिरेपछि पनि टिकट नदिएर देखाएको गैरजिम्मेवारीको चरम रूप ‘टिकटबिनाको रोमाञ्चक यात्रा’मा प्रकट भएको छ । ‘चितवनको चिसो रात’मा पत्रकारिताको तालिम कार्यक्रम उद्घाटनमा प्रमुख अतिथिका रूपमा चितवन पुग्दा आयोजकको व्यवहारले भोग्नुपरेको दुःखका साथै जाडोले थरथर काम्नुपरेको विवशता छ । 

कृतिका तीनवटा विदेश यात्रामध्ये ‘मरुभूमिको फूल’ नियात्रा माउन्ट अबुको यात्रामा आधारित छ । भारतको राजस्थान प्रान्तमा पर्ने माउन्ट अबुका तलाउ, मन्दिर, उद्यान, चट्टान निर्मित संरचना आकर्षणका केन्द्र बनेका छन् । लाहोरको पार्क, उद्यान हेर्दा नेपालको धुले रत्नपार्क झल्झली सम्झिनुभएको छ– ‘म लाहुरेको लाहोर यात्रा’मार्फत । यस्तै ‘शान्तिगीत गाइरहेछ हिरोसिमा’मार्फत युद्धप्रति घृणा र र शान्तिप्रति प्रेमभाव जगाउन हिरोसिमा शान्तिस्मृति सङ्ग्रहालयले विश्वभरि याचना गरिरहेको छ । यी नियात्राहरूमा लेखकले पाठकलाई सँगै डो-याएर आफू पुगेको ठाउँ शब्दको माध्यमद्वारा घुमाउन सफल हुनु भएको छ । 

कृतिको संस्मरण खण्डमा भने बाह्रवटा संस्मरण छन् । ‘सम्झनाको तरेलीमा तीन दशकीय कथायात्रा’, ‘गुरु गोरखापत्रको गौरव’, ‘मेरो चित्रपटमा बौद्ध’, ‘बिदाइ जीवनको लामो कालखण्डसँग’ आदि रहेका छन् । यी संस्मरणहरूमा लेखकको बालापन र स्कुले जीवन बितेको काठमाडौँको आरुबारी र चाबहिल क्षेत्रको मीठो-तीतो दुवै सम्झना छ । यस्तै कथा लेख्न प्रेरणा दिने व्यक्ति, घटना र प्रसङ्गको चर्चा विशद रूपमा गरिएको छ । जीवनको ऊर्जाशील समय बिताएको स्थल गोरखापत्र संस्थान र पशुपति क्याम्पससँगको सम्बन्ध भावनात्मक रूपमै प्रकट भएको छ । बहत्तर सालको भूकम्पको त्रासदीलाई पनि मिहिन ढङ्गले उतारिएको छ । संस्मरणको नाममा झिँजो लाग्ने गन्थन कहीँ कतै छैन । बरु तत्कालीन समयको सामाजिक, आर्थिक, भौगोलिक, सांस्कृतिक पक्षकाबारेमा यी संस्मरणले जानकारी दिन्छन् ।

नियात्रा तथा संस्मरण दुवैमा देशको राजनीतिक विसङ्गति, प्रशासनिक विकृति, सामाजिक पछौटेपन, अन्धविश्वास, छुवाछूत, योजनाविहीन सहरीकरण आदिमाथि प्रहार छ । भाषा, शैली रोचक र आकर्षक छन् । त्यसैले यो कृति नियात्रा र संस्मरण मिश्रित सुुन्दर पूmलका रूपमा नेपाली साहित्यमा रहिरहने छ ।  

कृति : मरुभूमिको पूmल

विधा : नियात्रा-संस्मरण

प्रकाशन : २०७७

प्रकाशक : बी.एन. पुस्तक संसार प्रालि.

मूल्य : २५०

Author

पुष्पराज जोशी