काठमाडौं, जेठ १ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।
नेपाल तेक्वान्दो सङ्घले खेलकुद मन्त्री लिम्बूको सम्मानमा आइतबार साँझ आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा मन्त्री लिम्बूले अधिकारका लागि सबैले एक जुट भएर लड्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । खेलकुद मन्त्रीले सिर्जनालाई १ लाख र प्रशिक्षक लामालाई २५ हजार रुपियाँ सहित प्रशंसा पत्रबाट सम्मान गर्नुभयो ।
२०७९ मङ्सिर २२ गते देखि २४ गते सम्म साउदी अरबको रियादमा सम्पन्न रियाद २०२२ वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाइनल जी १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीलाई हराउँदै सिर्जनाले ऐतिहासिक स्वर्ण पदक जित्नुभएको थियो ।
सिर्जनाले एसियाली यूथ पारा खेलकुद २०२१ बहराइन र २०२२ इरानमा सम्पन्न भएको चौथौँ डब्लुटि प्रेसिडेन्ट्स कप एसियन रिजनमा रजत पदक जित्नुभएको थियो । सृजना घिसिङ्ग, पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाहीले आगामी चिनमा हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिक गेम्सको लागि दैनिक प्रशिक्षण गरिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।
लामा सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम सम्हाल्दै आएकोमा अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगिताहरूबाट नेपालको लागि कूल ८ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुनुहुन्छ ।