काठमाडौं, जेठ १ गते । आयोजक नेपालले जेठ ८ देखि १४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने लक्ष्य राखेको छ ।
नेपाली टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले नेपालको एउटै लक्ष्य उपाधिमा ह्याट्रिक गर्नु रहेको बताउनुभयो । ‘‘हामीले तीन महिनादेखि राम्रो तयारी गरेका छौँ । टोलीमा प्रतिभा माली नहुँदा केही अफ्ठेरो छ । तरपनि उनको स्थानमा खेल्न अरू खेलाडी तयार छन् । घरेलु कोर्ट र दर्शकको साथमा उपाधि जित्न चाहन्छौँ । हामी सबै खेल जित्नका लागि खेल्नेछौ,’’ प्रतियोगिताको तयारी बारे नेपाल भलिबल सङ्घले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टले भन्नुभयो । भट्टको साथमा नेपाली टोलीलाई बेल्जियन मुख्य प्रशिक्षक जान डे ब्रान्टले प्रशिक्षण दिनुभएको छ ।
प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसहित बङ्गलादेश, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाकस्तान, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै भारत, बङ्गलादेश र कीर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलङ्का, माल्दिभ्स र काजकिस्तान रहेको छ । नेपालले जेठ ८ गते किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिता आयोजना र व्यवस्थापनको हिसाबले नेपालको अन्तिम तयारी पूरा भएको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । ‘‘राष्ट्रिय खेल भलिबलको लागि यस प्रतियोगिता निकै महत्त्वाकाङ्क्षी छ । लगानीको हिसाबले पनि दुई करोड ७१ लाख रुपियाँ जुटाउन सङ्घलाई त्यति सजिलो छैन । तरपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग, विभिन्न सङ्घ संस्था तथा विदेशमा रहेका दाताको सहयोगमा प्रतियोगिता सफल पार्ने योजना बनाएका छौँ,’’ चन्दले भन्नुभयो ।