जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उचित प्रवर्धनबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने सम्भावना छ । भौगोलिक तथा जैविक हिसाबले निकै विविध मात्र नभई धनी हुँदाहुँदै पनि यहाँका प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकी उच्चतम प्रतिफल लिने सम्भावनाबाट निकै पछाडि परेका छौँ ।
जडीबुटी तथा सुगन्धित वनस्पतिको सही व्यवस्थापन तथा सदुपयोग गर्न सक्दा अधिकतम लाभ लिन सकिने सम्भावना रहेका छन् । यी सम्भावना केलाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रले जति टेवा लिन सक्थ्यो जडीबुटी तथा वनस्पति क्षेत्रबाट त्यसो हुन सकिरहेको छैन ।देशको कुल भू–भागको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको छ । वन क्षेत्रको आँकडा बढ्ने व्रmममा नै छ ।
‘हरियो वन नेपालको धन’ भन्ने नेपाली जनजिब्रोमा उब्जिरहने उखान सत्य साबित हुन सकिरहेको छैन । न काठमा आत्मनिर्भर बनिरहेका छौँ न त बहुमूल्य जडीबुटी तथा सुगन्धित वनस्पतिको प्रवर्धन गरी उल्लेखनीय लाभ लिनै सकिरहेका छौँ । पहिचान तथा उपयोगसम्बन्धी ज्ञानको अभावमा बहुमूल्य वनस्पति यसै मिल्किरहेका छन्, कति बहुमूल्य वनस्पतिको बिउ नै मासिसकेको छ भने कति वनस्पति त जैविक चोरीको मारमा पर्ने जोखिम पनि बढिरहेको छ । खेतीयोग्य जमिन घडेरीका नाममा टुक्रा टुक्रा पारिएका छन् ।
जे जति पनि जडीबुटी सङ्कलित हुन्छ त्योमध्ये ७० प्रतिशत जङ्गलबाट सङ्कलन हुने गरेको आँकडा विभिन्न अध्ययन स्रोतबाट प्राप्त भएको छ भने जडीबुटी बजारका लागि मुख्यत छिमेकी मुलुक भारतमा नै निर्भर रहनु परेको छ ।
नेपालमा अत्यधिक सम्भावना बोकेको जडीबुटी तथा सुगन्धित वनस्पतिको प्रवर्धन भई राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको भूमिका स्थापित गर्न सकिएको छैन । जडीबुटी तथा सुगन्धित वनस्पतिको सङ्कलन पनि वैज्ञानिक तवरबाट भइरहेको सुनिश्चित गर्न सकिएको छैन । यी स्रोतहरूको अवैध चोरी निकासी पनि पूर्ण नियन्त्रित बन्न सकिरहेका छैनन् ।
जसबाट सरकारलाई राजस्व असुलीमा समेत असर परेको छ । जडीबुटी सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणको प्रणाली सबल छैन । जडीबुटीको पहिचान, उपयोग, खेती प्रविधि तथा व्यावसायीकरणमा जनचासो बढाउन सकिएको छैन । जडीबुटीको मूल्य अभिवृद्धि हुन पनि सकेको छैन । यी स्रोतको पहुँच जडीबुटी कृषक तहसम्म पुग्न सकेको छैन । जडीबुटी तथा सुगन्धित वनस्पतिलाई रोजगारी सिर्जनासँग जोडेर उद्यमशीलता विकास गरी आर्थिक विकासको एक आधार स्तम्भका रूपमा बढोत्तरी गर्न सकिएको छैन । उपलब्ध विविध स्रोतको खेती विस्तार हुन नसक्दा बहुमूल्य वनस्पति स्रोत जङ्गलबाटै अवैध ढङ्गबाट सङ्कलन हुन गई प्राकृतिक बासस्थानबाट लोप हुने खतरा बढेको छ ।
नेपालको भूगोल, यहाँको विविधता र भौगोलिक अवस्थितिले दिलाएका अनेकौँ सम्भावनामध्ये जडीबुटी तथा सुगन्धित वनस्पति स्रोत एक महìवपूर्ण सम्पदा हो । जडीबुटी बहुमूल्य छन् तर प्रशोधन तथा मूल्य अभिवृद्धि गर्न नसकेर कच्चा रूपमा नै बजारमा प्रवेश गराउँदा बहुमूल्य निधिको अवमूल्यन भइरहेको छ ।
यार्सागुम्बा, जटामसी, पाँचऔँले जस्ता बहमूल्य वनस्पति पनि हामीले कच्चा पदार्थकै रूपमा बेचिरहेका छौँ । यस्ता स्रोतको वैज्ञानिक अध्ययन, अनुसन्धान, खेती प्रविधि विकास, व्यावसायीकरण र बजारीकरणको सम्भावनालाई उचित ढङ्गले उपयोग गर्न नसक्दा नेपाल र नेपालीलाई उचो राख्ने एक दरिलो सम्भावना कस्तुरीको बिना जस्तो भएको छ ।
वनस्पति विभागले जडीबुटी तथा सुगन्धित वनस्पतिको अध्ययन अनुसन्धान तथा खेती प्रविधि विकासको कार्य गरिरहेको छ । विभागले ३३ वटा जडीबुटी नेपालको आर्थिक विकासका लागि प्राथमिकतामा राखेको छ । केही जडीबुटीको असल खेती तथा सङ्कलन अभ्यास मापदण्ड तयार भएको छ । टिमुर र मेन्थाको जडीबुटी बिमालेख तयार भएको छ । जडीबुटी तथा सुगन्धित
वनस्पतिको अध्ययन अनुसन्धान तथा प्रविधि विकासका काम पनि भइरहेका छन् ।
वनस्पति विभाग र अन्य सरोकारवाला निकाय जस्तै वन तथा भूसंरक्षण विभाग, डिभिजन वन कार्यालय, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद विभाग, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र अन्य आयुर्वेदिक तथा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग सबल समन्वय हुनु पर्दछ ।
जडीबुटी तथा सुगन्धित वनस्पतिको वैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण, पहिचान, विश्लेषण, प्रमाणीकरण, मूल्य अभिवृद्धि, प्रशोधन, बजारीकरणमा जोड दिनु पर्दछ । जडीबुटी पकेट क्षेत्रहरूको निर्धारण गर्ने, एक गाउँ अनेक जडीबुटी अभियान लागु गर्ने, जडीबुटी कृषक समूह निर्माण गर्ने, होम हर्बल गार्डेन अभियान सञ्चालन गर्ने, जडीबुटी कृषक परिचयपत्र लागु गर्ने, जडीबुटी सहकारी निर्माण गर्ने, जडीबुटीको शत्रुजीव विश्लेषण तथा सूची तयारी गर्ने, भन्सार नाकामा जडीबुटी पहिचान गर्नसक्ने जनशक्तिको व्यवस्थापन गर्ने, जडीबुटी निकासीको प्रव्रिmया सरलीकरण गर्ने, जडीबुटी बिमा कार्यव्रmममा व्यापकता ल्याउने कार्य गर्नु पर्दछ ।
यसका साथै ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियान सबल ढङ्गबाट कार्यान्वयन गरी अन्तराष्ट्रियस्तरमा नै नेपालको जडीबुटी तथा सुगन्धित वनस्पतिको ब्रान्डिङ गर्नु पर्दछ । जडीबुटी कृषक तथा समूह÷सहकारीलाई जडीबुटी सञ्जालमा जोड्नु आवश्यक छ । जसबाट जडीबुटीको स्थानीय बजार प्रवर्धन हुन जान्छ । इच्छुक र नतिजा देखाउन सक्ने गरी काम गर्ने आधार भएका समूह÷ सहकारीलाई अनुदान तथा विभिन्न सहुलियतका कार्यव्रmम लागु गर्नु पर्दछ । जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती, व्यावसायीकरण, प्रशोधन तथा बजारीकरण गर्ने जडीबुटी कृषक एवं समूह सहकारीलाई अभिप्रेरित गर्नु जरुरी छ ।
नेपालमा सम्भाव्य जडीबुटी तथा यिनीहरूको गुणको बारेमा विभिन्न प्राज्ञिक निकाय सङ्घ–संस्था तथा व्यक्तिसमेतको साझेदारीमा अध्ययन अनुसन्धानलाई व्यापक बनाउनुपर्छ । जडीबुटीसम्बन्धी हाम्रा परम्परागत ज्ञान सिपलाई समेत अभिलेखीकरण गर्दै हाम्रा बौद्धिक सम्पत्तिको रूपमा सुरक्षित राख्नु पर्छ । सार्वजनिक निजी साझेदारी मोडलमा जडीबुटी खेती प्रवर्धन गर्न सकिन्छ । नेपालमा उपलब्ध यस्ता वनस्पति स्रोतको बायोप्रोस्पेक्टिङको सम्भावना पनि रहेको छ । हाल विश्व बजारमा जडीबुटीको अधिक माग छ । जडीबुटीको गुणस्तरमा विश्वसनीयता दिलाउनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्वारेन्टिन तथा प्रयोगशालाको स्थापना तथा विस्तार गर्नु पर्दछ ।
जडीबुटीको व्यावसायिक खेती हुन सकिरहेका छैनन् । यदाकदा खेती गरेका कृषक तथा समूहलाई बजार व्यवस्थापनमा परेका समस्याको समाधान कसले गर्ने या सहजीकरण गर्ने, जिम्मेवारी कसको हो भन्ने स्पष्ट नभएको देखिन्छ । जसको कारण जडीबुटी खेती गर्न खोज्ने कृषक पनि उत्साहित बनिरहेका छैनन् । यस्तो नहोस् भन्नाका खातिर जडीबुटी कृषकमा खेती, व्यावसायीकरण तथा बजारीकरणसम्बन्धी व्यावहारिक तालिममार्फत सशक्त बनाई उत्पादित जडीबुटीको बजार व्यवस्थापनमा सहजीकरण गरिदिनु आवश्यक छ ।
सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी जडीबुटीको बृहत् खेती, सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणको काम गर्नु पर्दछ । जडीबुटी तथा सुगन्धित वनस्पतिको खेतीतर्फ आकर्षित गर्ने खालका विभिन्न कार्यव्रmम लागू गर्नु पर्दछ । जसबाट स्वदेशमा नै श्रम गर्ने, स्वरोजगार बन्ने मात्र होइन कि जडीबुटी उद्यमी बन्ने अवसर पनि सिर्जना हुँदै जाने छन् र समग्रमा मुलुकको आर्थिक विकासमा नै टेवा मिल्न जाने छ ।
लेखक वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।