• १२ साउन २०८१, शनिबार

रारा पर्यटन पदमार्ग अलपत्र

blog

डिभिजन बन कार्यालयको सहजीकरणमा रारामा सञ्चालन भएका योजना, रारा पर्यटन पदमार्ग र रारा साइकल लेन यी दुबै योजना अलपत्र परेका छन् । तस्बिर: हरिकृष्ण ऐडी

साइकल लेनको उस्तै बिजोग
मुगु, वैशाख २७ गते । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माण अलपत्र परेको छ । खानी थोदुुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको उक्त आयोजना निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको हो ।

डिभिजन वन कार्यालय मुगुका अनुसार रारा पर्यटकीय पदमार्ग निर्माणका लागि सङ्घीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को बजेटमार्फत ४६ करोडको बेनियोजित बजेट मा  ४५ करोड २९ लाख १० हजार ७९ रुपैयाँमा  खानी थोदुुङ क्याराभानले २०७९ असारमा  निर्माणको जिम्मा  पाएको थियो । कार्यालय प्रमुख अम्मर शाहले निर्माण कम्पनीले काम अगाडि बढाउन भनी  २०७९ असार २५ गते आठ करोड पेस्की समेत लिएको बताउनुभयो । पेस्की लिए पनि काम भने अझै अगाडि बढेको छैन ।

१४ किलोमिटर लामो  पदमार्गका पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई आउजाउमा  समस्या भएको स्थानीय नन्द्सिङ  रोकायाले बताउनुहुन्छ । राराको नाममा यस्ता विकास निर्माण सम्बन्धी  योजना धेरै आएको सुनिने तर कार्यान्वयन नभएको उहाँको भनाइछ । निर्माण कम्पनीको दोष मात्र भन्दा पनि सरकारी निकायको समेत योजना अगाडि बढाउन चासो कम देखिएको उहाँको भनाइ छ ।

निर्माण कम्पनीले गैर स्थानीय सामाग्री खरिद गर्न र निर्माण कार्य अगाडि बढाउन पेस्की लिएको एक वर्ष सम्ममा पनि सोचे अनुरूप काम नभएपछि पेस्की फिर्ताको लागि बारम्बार चिठी पठाएको कार्यालय प्रमुख शाहले बताउनुभयो । ‘हामीले पत्राचार गरे पनि निर्माण कम्पनीले अहिले सम्म सुनुवाइ गरेको छैन । उल्टै योजना सदरको माग गर्दै उच्च अदालतमा मुद्दा हालेको छ । उच्च अदालतमा हालेको पहिलो मुद्दा ०७९ फागुन १७ गते रिट निवेदन खारेज गरिसकेकोले पुनः मुद्दा हालेको भन्ने बुझिएको छ ।’ उहाँले भन्नुभयो ।

उहाँले कार्यालयको तर्फबाट रकम फिर्ताको अन्य प्रक्रियागत उपाय पनि अपनाउने बताउनुभयो । ‘निर्माण कम्पनीले राज्यको पैसा दोहन गर्ने, काम नगर्ने, ब्याज मात्र असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुलीको पत्र बारम्बार कार्यालयको तर्फबाट पठाउने काम भएको छ, अब अरू प्रक्रिया पनि जान्छौँ,’ उहाँले भन्नुभयो ।

एकातिर समयमा काम नहुने अर्को तिर काम सञ्चालन हुन नसक्दा स्थानीयको रोजगार पनि खोसिएको  जिल्ला नागरिक समाजका संयोजक रूप बहादुर मल्ल बताउनुहुन्छ । यस्ता निर्माण कम्पनीलाई सम्बन्धित निकायले निकासा भए बमोजिम रकमको ब्याज समेत असुल नगरेमा सम्बन्धित निकाय र निर्माण कम्पनीलाई  सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने उहाँको भनाइ छ । रारा पर्यटन पदमार्गको  विषयमा निर्माण कम्पनीसँग जानकारी लिन खोज्दा  निर्माणका सञ्चालक  चन्द्र थकाली फोन सम्पर्कमा आउनुभएन ।

साइकल लेनको उस्तै बिजोग

सङ्कर मालिका कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको   रारा पर्यटकीय पूर्वाधार साइकल लेनको एक किलोमिटर  निर्माण कार्य २०७७ देखि अलपत्र छ । डिभिजन वन कार्यालयका कर्मचारी  प्रनिल देवकोटाले  भन्नुभयो । निर्माण कम्पनीले काम सञ्चालन गर्नलाई पहिलो किस्ता ८० लाख  पेस्की लिएको देखिन्छ ।

छायानाथ रारा नगरपालिका वडा नं ९ का स्थानीय  दन्तलाल रोकाया रारा साइकल  लेन निर्माण कार्यका लागि ल्याइएका गैर स्थानीय सामग्री इँटा, कङ्क्रिट यत्रतत्र फालिएका छन् ।  निर्माण  कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।  यता डिभिजन बन  कार्यालय मुगुका कार्यालय प्रमुख अम्मर शाहले  बहुवर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने भए पनि आजसम्म ठेक्का कम्पनीको लापरबाहीले काम अगाडि नबढेको र निर्माण कम्पनीको अहिले सम्म  सम्पर्कमा नआएको बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएका उक्त  निर्माण कार्यमा छिटोछरितो काम नभएको बताउनु हुन्छ।  पर्यटकीय पूर्वाधार निर्माण समयमै सम्पन्न  भएमा रारा घुम्न आउने पर्यटकलाई सहज हुने रारा तालको आकर्षणले पर्यटक पनि भविष्यमा बुड्ने उहाँको भनाइ छ ।
Author

हरिकृष्ण ऐडी