गोरखापत्रले वैशाख २४ गते १२३ औँ वार्षिकोत्सव मनाएको छ । यो अखबार नेपालका चारवटा महìवपूर्ण राजनीतिक परिवर्तनको साक्षी हो । राणाकालमा उदारमध्येका एक राणा प्रधानमन्त्री देवशमशेरले यसको स्थापना गर्दा देशका राजा पृथ्वी वीरविक्रम शाह थिए । उसबेला राजाको शासन थिएन, प्रधानमन्त्री नै मूल शासक हुन्थे । देवशमशेर राज्यसत्ताबाट उसबेलाको भाषामा धपाइँदा खासमा पदच्युत गरिँदा गोरखापत्रले भने ज्यान जोगाउन सक्यो । चन्द्रशमशेर पत्रिका प्रकाशनको पक्षमा थिएनन् भन्ने कुरा उनको शासनकालमा कुनै पनि खालको पत्रपत्रिकाले प्रकाशनको अवसर नपाएबाट पुष्टि हुन्छ । यद्यपि गोरखापत्रले भने ज्यान गुमाउनु परेन ।
सात सालमा राणा शासन फालिँदा गोरखापत्र हप्तामा तीन दिन प्रकाशित हुने गथ्र्यो । सोमबार साप्ताहिक रूपमा प्रकाशन सुरु गरेको गोरखापत्र ९ वैशाख १९९१ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । २९ असोज २००० देखि मङ्गलबार र शुक्रबार प्रकाशन हुन थालेको यो अखबार ८ पुस २००३ देखि हप्तामा तीन दिन निस्कन लागेको थियो । ७ फागुन २०१७ देखि दैनिक बनेको अखबारले यसको दुई महिना अघिसम्म लोकतन्त्रको अभ्यासका अनुभव ग¥यो तर दैनिक हुँदै गर्दा मुलुकमा राजाको एकतन्त्रीय शासन सुरु भइसकेको थियो । २०४७ साल चैत २६ गते पञ्चायती शासन निलम्बन गरेर राजाले बहुदलीय शासन प्रणाली घोषणा गर्दा तीन राजनीतिक चरण पार भएका थिए । २०६२÷६३ को आन्दोलनले राजालाई कायम राख्नुको औचित्य देखेन र २०६५ जेठ १५ को गणतन्त्र घोषणा गरिँदा ब्यानर समाचार छाप्ने गोरखापत्रले राणा शासनभन्दा लामो आयु पार गरिसकेको थियो ।
विश्वको सबैभन्दा पुरानो जीवित अखबार इटालीको ‘ला गजेट डी मोन्टोभा’ हो । सन् १६६४ देखि प्रकाशन प्रारम्भ भएको यो अखबार अहिले पनि निरन्तर प्रकाशन हुने गर्छ । यो अखबारभन्दा अगाडि स्विडेनमा सन् १६४५ देखि प्रकाशित ‘पोस्ट ओक इन्रिक्स टिडनिन्गार’ले १ जनवरी २००७ देखि छापा प्रकाशन स्थगित गरेर अनलाइन संस्करण मात्र सुरु गरेको छ । १६५६ देखि निरन्तर छापिँदै आएकोमा नेदरल्यान्डको ‘हारलेम्स डागब्लाड’ले पछिल्लो समय छापा स्वरूप परिवर्तन गरेको छ । पुरानोमध्येको लन्डन गजेट सुरुमा ‘दी अक्सफोर्ड गजेट’ नाममा प्रकाशन हुने गथ्र्यो । सरकारी प्रकाशनका रूपमा रहेको यो अखबार ७ नोभेम्बर १९६५ देखि २९ भाषामा प्रकाशित हुने गर्छ ।
छिमेकी देश भारत विश्वकै धेरै प्रकाशन भएको दोस्रो देशमा पर्दछ । भारतमा १० हजारभन्दा बढी प्रकाशन दर्ता भएका छन् । त्यहाँ पनि केही अखबारले शतक लामो इतिहास बोकेका छन् । गुजराती भाषामा प्रकाशित हुने ‘बम्बे समाचार’ सन् १८२२ देखि प्रकाशन सुरु भएको हो र यो एसियाकै सबैभन्दा पुरानो र नियमित प्रकाशन हुँदै आएको अखबार हो । अङ्ग्रेजी भाषामा प्रकाशित हुने ‘दी टाइम्स अफ इन्डिया’ भारतको सबैभन्दा बढी प्रति छापिने अखबार ३ नोभेम्बर १८३८ देखि निरन्तर प्रकाशित छ । स्थापनाको १२ वर्षपछि सन् १८५० देखि यसले दैनिक प्रकाशन सुरु गरेको हो । सुरुमा हप्तामा दुई दिन प्रकाशित हुने यो अखबारको नाम ‘दी बम्बे टाइम्स एन्ड जर्नल अफ कमर्स’ थियो । १८६१ देखि यसको नाम ‘दी टाइम्स अफ इन्डिया’ राखिएको हो ।
महात्मा गान्धीले सन् १९२४ सेप्टेम्बर २६ मा विमोचन गर्नुभएको ‘हिन्दुस्तान टाइम्स’ सय वर्ष टेक्दै छ । भारतका चर्चित उद्योगपति केके बिडलाको स्वामित्वबाट सुरु भएको यो अखबार अकाली आन्दोलनका संस्थापक सुन्दरसिंह ल्यालपुरीको सम्पादनमा सुरु भएको हो । राष्ट्रवादी अखबारको पहिचान बनाएको यो अखबारले भारतीय स्वतन्त्रता आन्दोलनमा ठूलो योगदान गरेको छ ।
जापानमा उन्नाइसौँ शताब्दीमा स्थापित दुई अखबार ‘योमुरी सिम्बुन’ र ‘आसाही सिम्बुन’ ले आज पनि निरन्तर सूचना र समाचार प्रवाह गरिरहेका छन् । १८७४ देखि प्रकाशन सुरु गरेको ‘योमुरी सिम्बुन’ सुरुमा साहित्यिक अखबार जस्तो लाग्थ्यो । १९२४ मा यसको स्वामित्व परिवर्तन भए यता यो समाचारपत्रका रूपमा रहेको छ । राजनीतिक र वैदेशिक समाचारका लागि नाम कमाएको ‘आसाही सिम्बुन’ २५ जनवरी १८७९ देखि प्रकाशन हुन थालेको हो । यो अखबारले जापानको उदार र प्रगतिशील अखबारका रूपमा पहिचान बनाएको छ । त्यसो त १८७२ बाट सुरु भएको ‘मैनाची सिम्बुन’ जापानको सबैभन्दा पुरानो र निरन्तर प्रकाशित अखबार हो ।
विभिन्न कालखण्डमा प्रकाशन सुरु गरेका अखबारले ती मुलुकका स्वतन्त्रता सङ्ग्राममा भूमिका निर्वाह गरेका छन् । सूचना र खोजमूलक समाचारका संवाहक बन्दै आएका छन् । उपनिवेशबाट उन्मुक्त हुनका लागि मात्र होइन, राजनीतिक र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा समेत ती अखबारले काम गरेका छन् । अखबारबाहेकका अरू मिडियाको इतिहास भर्खर सय वर्ष भएको छ । खासमा ‘बीबीसी’ निजी क्षेत्रले सुरुवात गरेको समय १८ अक्टोबर १९२२ लाई आधार मान्दा रेडियो प्रसारणको सय वर्ष पूरा भएको छ । टेलिभिजनको इतिहास त्योभन्दा कान्छो छ । २१ औँ शताब्दीमा आइपुग्दा पनि स्वतन्त्रता आन्दोलनमा अखबारको जति भूमिका अरू कुनै माध्यमले निर्वाह गर्न सकेका छैनन् ।
प्रेस स्वतन्त्रता अखबारको सम्पादकीय स्वतन्त्रताको अनिवार्य सर्त हो तर स्वामित्व लिने व्यक्ति वा संस्थाका कारण कतिपय अखबारले त्यो स्वतन्त्रताको अनुभूति गर्न पाएका छैनन् । गोरखापत्रले १२३ औँ वार्षिकोत्सव मनाइरहँदा शासकको चाहना अनुरूप चल्नुपर्ने बाध्यताबाट आंशिक मुक्ति खोज्ने प्रयत्न गरिरहेको छ । हरेक दिन प्रधानमन्त्री मुख्य समाचार बन्ने र सञ्चारमन्त्रीको समाचार सकभर नछुट्ने प्रवृत्ति हटाउन अझै ग्राह्रो भएको छ । पछिल्लो समय गोरखापत्रले अनौपचारिक समाचारसमेत प्रकाशन गर्न थालेको छ । निजी र स्वतन्त्र भनिएका अखबारले लुकाउन खोजेको वा दिने आँट नगरेका समाचारको प्रकाशनको प्रारम्भले गोरखापत्र आंशिक सम्पादकीय स्वतन्त्रता उन्मुख छ भन्न सकिन्छ । यद्यपि त्यो पनि लोकतान्त्रिक धारको सरकार नभएका बेला यस्तो अभ्यास अवरुद्ध हुने सम्भावना यथावत् छ ।
संयोगले मे ३ को विश्व प्रेस स्वतन्त्रता दिवसकै सप्ताहमा गोरखापत्रले वार्षिकोत्सव मनाउने गर्छ । यसको स्वतन्त्रताको सीमा सरकारको परिवर्तनमा निर्भर रहँदै आएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको र अधिकांश समाचार सरकारका स्वार्थसँग नबाझिने गरी मात्र आउने कारण यो अखबारको औचित्यका बारेमा पटक पटक बहस भएका हुन् । आफू सत्तामा नरहँदा राजनीतिक दलले यसलाई निजीकरण वा सहकारीकरण गर्ने प्रस्ताव गर्दै आएका हुन् तर सय वर्षभन्दा लामो इतिहास बनाउनु कुनै पनि छापा माध्यमका लागि सहज होइन । अझ सूचना प्रविधिको बढ्दो प्रभावका कारण अखबारको इतिहास जोगाउने चुनौतीबाट विकसित मुलुकका अखबार पछाडि हटेका छन् । ‘टाइम्स’, ‘न्युजविक’ जस्ता चर्चित अमेरिकी म्यागेजिनले एक्काइसौँ शताब्दीको पहिलो दशकमै अनलाइन संस्करणमा सीमित हुने निर्णय गरेको तथ्य हाम्रासामु छ ।
गोरखापत्र जेजस्ता राजनीतिक कालखण्डमा जसरी प्रकाशन हुँदै आए पनि एउटा सत्य स्वीकार गर्नु पर्छ, यसको निरन्तरतामा कहिल्यै अवरोध आएन । नेपालमा प्रजातन्त्र स्थापनालगत्तै स्थापना भएका निजी क्षेत्रका नेपाली अखबार आज आफैँ इतिहास बनेका छन् । पञ्चायतकालमा बहुदलीय शासन पद्धतिका पक्षमा उभिएका अखबार अधिकांश बन्द भइसके । बाँचेका पनि सीमान्तकृत बन्दै गएका छन् । यो अवस्थामा गोरखापत्र सरकारकै लगानीकै कारण सही विश्वमा एउटा इतिहास बनेको छ । गोरखापत्रका नाममा यो पनि हामीले गौरव गर्ने विषय हो ।
आलोचना गर्नु पत्रकारिताको धर्म हो । गालीगलौजबाट मुक्त भएर स्वच्छ आलोचना गर्न नसक्ने अखबारले नागरिकलाई सही सूचना दिन सक्दैन । कमजोरी औँल्याउनु पत्रकारिताको दायित्व पनि हो । आफ्ना पक्षमा नहुनेबित्तिकै वा आफ्ना प्रतिकूलका समाचार प्रवाह हुनासाथ पत्रकारिताविरुद्ध खनिने प्रवृत्ति आजको कथित नयाँ पुस्ताका राजनीतिक दल र नेतामा समेत देखिएको छ । यो अवस्थामा पत्रकारिताको धर्म रक्षा गर्दै सम्पादकीय स्वतन्त्रताको उपभोगमा गोरखापत्रले प्रारम्भ गरेको प्रयासलाई निरन्तरता दिन जरुरी छ । यसले गोरखापत्रको औचित्य र आवश्यकतालाई भोलिका दिनमा थप पुष्टि गर्न मद्दत गर्ने छ ।
लेखक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।