• १३ असोज २०८१, आइतबार

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु (फोटोसहित)

blog

आइतबारदेखि सुरुभएको सङ्घीय संसद्को बर्खे अधिवेशनमा सहभागी सांसदहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २४ गते । सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो । 

यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रिबजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । 

यसैबीच राष्ट्रियसभाको आजदेखि १४ औँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपरान्ह ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदलाई स्वागत गर्नुभयो । 

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त  पत्र र वर्तमान मन्त्रिपरिषदमा  पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाउनुभयो ।

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छन् । रासस