• २२ वैशाख २०८१, शनिबार

गोरखापत्र वार्षिकोत्सव विशेष

सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र नै हो : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखापत्रको १२३ वर्ष प्रवेशको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २४ गते । गोरखापत्र प्रवेशको १२३ औँ वर्ष तथा गोरखापत्र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९५८ वैशाख २४ गते पहिलो प्रकाशन गरेको गोरखापत्रले आज वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभयो । सो अवसरमा उहाँले गोरखापत्र समयअनुसार आफूलाई परिमार्जित गर्दैआएको भन्दै प्रविधिको विकाससँगै प्रतिस्पर्धामा खरो उत्रनुपर्ने बताउनुभयो । सरकारका राम्रो कामको सकारात्मक सन्देश जनतामाझ प्रवाह गर्ने र जनताको समस्या सरकारसमक्ष लग्ने काममा गोरखापत्रले भूमिका खेल्दैआएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो । 


आगामी दिनमा गोरखापत्रलाई थप विश्वसनीय र पारदर्शी बनाएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । मुलुकको सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र नै भएको उहाँले चर्चा गर्नुभयो । जनताको आवाज बोल्ने पत्रिका भएकाले यसलाई समयअनुसार प्रतिस्पर्धी बनाउनमा भूमिका खेल्न उहाँले गोरखापत्रकर्मीलाई सुझाव दिनुभयो । 

जनतामाझ स्थापित अखबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको राजनीति, सामाजिक, आर्थिक पक्षमा गोरखापत्रले गरेको योगदानको चर्चा गर्नुभयो । जनतामाझ गोरखापत्र स्थापित अखबार रहेको र त्यसको प्रतिष्ठा कायम राख्न अहिले चुनौती रहेको उहाँले बताउनुभयो । 


गोरखापत्र संस्थानका सबै प्रकाशन नागरिकका लागि बौद्धिक खुराक भएको उहाँले चर्चा गर्नुभयो । सो अवसरमा उहाँले गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको वृत्ति विकासका लागि चाँडै विनियमावली पारित गरी काम अघि बढाइने उहाँले विश्वास दिलाउनुभयो ।


गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपालको राजनीतिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनको गोरखापत्र जीवन्त साक्षी भएको चर्चा गर्नुभयो । पछिल्लो समय गोरखापत्रका विषयवस्तुमा गुणात्मक सुधार आएको र आगामी दिनमा प्रविधिमैत्री बनाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । गोरखापत्रको १२३ वर्षकै दस्ताबेजलाई डिजिटल अर्काइभिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।


गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय गोरखापत्रले सरकारको भजनमण्डलीभन्दा जनताको मुद्दामा ध्यान दिएको बताउनुभयो । गोरखापत्र प्रकाशन सुरु भएकै दिनलाई सरकारले २०७३ सालदेखि राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मनाउनु गौरवको विषय भएको उहाँले चर्चा गर्नुभयो । 

गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले जनता र सरकारलाई जोड्ने पुलको काम गोरखापत्रले गरिरहेको बताउनुभयो । गोरखापत्र देशको सबै परिवर्तनको जीवित साक्षी भएको चर्चा गर्नुहुँदै प्रधान सम्पादक भट्टराईले पाठकले गोरखापत्रलाई आधिकारिकता र विश्वसनीयताका लागि पढ्ने गरेको बताउनुभयो । त्यही गोरखापत्रको पुँजी र सम्पत्ति रहेको उहाँले चर्चा गर्नुभयो । 


नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रले अहिले देशको विकृति विसङ्गति र भ्रष्टाचारका विषयलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण दिइरहेकोमा खुसी लागेको बताउनुभयो । कुनै बेला शासकको भनाइ मात्र छाप्ने पत्रिका अहिले जनताको आवाज छाप्ने अवस्थामा आउनु ठूलो परिवर्तन रहेको उहाँले चर्चा गर्नुभयो । गोरखापत्र संस्थानले त्यहाँ कार्यरत पत्रकार, कर्मचारी तथा जनशक्तिको वृत्ति विकासमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । 



न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले गोरखापत्रले आफूलाई समयानुकूल परिमार्जन गर्दै गएको भए पनि त्यहाँ कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा समयानुकूल काम गर्न नसकेको बताउनुभयो । श्रमजीवीहरूको हकहितमा ध्यान दिई गोरखापत्रको गरिमालाई थप उचाइमा लग्न सकिने उहाँको सुझाव थियो । 

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट पत्रकार तथा कर्मचरीहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । गोरखापत्रमा २५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई स्वर्ण पदक र र २० वर्ष सेवा अवधि पूरा गरेकालाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । स्वर्ण सेवा पदक प्राप्त गर्नुहुने २३ जना कर्मचारी रहनुभएको छ भने दीर्घ सेवा पदक प्राप्त गर्नुहुने १ जना रहनुभएको छ ।

यसैबीच कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड तथा सञ्चारमन्त्री रेखा शर्माले गोरखापत्र प्रकाशन शैली २०८० को लोकार्पण गर्नुभयो । 

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चारमन्त्री रेखा शर्माले गोरखापत्र प्रकाशन शैली २०८० को लोकार्पण गर्नुहुँदै । 

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

र सञ्चारमन्त्री रेखा शर्माले गोरखापत्र प्रकाशन शैली २०८० को लोकार्पण गर्नुहुँदै । 

तस्बिर : मनोजरत्न शाही, सागर बस्नेत, कविता थापा, सुजन गुरुङ