• १० मंसिर २०८१, सोमबार

सोई ढोले सोई...

blog

हाम्रा स्वभाव प्रकृतिअनुसार बदलिरहन्छ । टहटह जून लागिरहेको बेला हाम्रो हृदय चन्द्रमाझैँ उज्ज्वल भएर चम्किन थाल्छ । बादलहरूले घेरिएको बेला हामी निराशामा डुब्न थाल्छौँ । असारको रिमझिम वर्षात्को बेला हाम्रो हृदय मुजुर भएर नाच्न थाल्छ । प्रकृति आफैँमा ध्वनिमय छ । हामी चौतर्फी ध्वनिले घेरिएका छौँ । ध्वनिमा सङ्गीत छ । प्रकृति आफैँमा सङ्गीतमय छ । हावाका सरसराहट, खोलाका कलकल, चराका कलकल, बिजुलीका गर्जन आफैँमा सङ्गीतमय छ ।

माहात्मा गान्धी भन्नुहुन्छ, “लोकगीतमा धर्ती गाउँछ । पर्वत गाउँछ । नदी गाउँछ ।” वास्तवमा लोकगीत वैदिक ऋचाझैँ प्रकृति र मानवीय संवेदनाको सहज उद्गार हो । जसरी घोर अन्धकारमय गुफाबाट बगेर आएको नदीको उद्गमस्थल कसैलाई थाहा हुँदैन, ठिक त्यही अवस्था लोकगीतमा पनि लागू हुन्छ । लोकगीत मानव हृदयको उद्गार हो । लोककण्ठबाट स्वतस्फूर्त उब्जिएको हुन्छ । यो निरक्षर ग्रामीण जनताको अभिव्यक्तिको कलात्मक माध्यम हो । 

यसै क्रममा वैशाख पूर्णिमामा चण्डी नाच नाचिन्छ । प्रकृतिपुजक किराँतहरूले ढोल, झ्याम्टा, मुजुरा, च्याब्रुङ बाजाको तालमा प्रकृतिको आराधना गर्दै कसरी चण्डी नाच्छन् भन्ने तथ्यलाई अरुण उपत्यकाको सङ्कलनमा रहेको यो गीतको हरफले प्रस्ट पार्छ : 

सिमली सेउली गाडेर 

संसारीमाईलाई भाकेर 

पुर्खाको रीति साकेला

मनाउँला सिली नाचेर 

सोई सोइँला हो सोई सोइँला

सोई ढोले सोई, अर्को ढोले खोई ?

यस्ता गीत र नृत्य अक्सर किराँत राईहरूको अधिक बसोबास रहेको नेपालको पूर्वीपहाडी भूभाग ओखलढुङ्गा, उदयपुर, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, तेह्रथुम, खोटाङ आदि जिल्लामा अधिक सुन्न र देख्न पाइन्छ । यो नाच मूलतः चण्डीका रूपमा चर्चित भए पनि भौगोलिक बनोटअनुसार विभिन्न थरका राईहरूमा विभिन्न नामले चर्चित छ । 

प्रायः धेरै राईहरूले यसलाई साकेला भन्छन् भने साम्पाङ राईहरूले साख्ने, थुलुङ राईहरूले तोषी, वान्तवा राईहरूले सान्केवा आदिले यसलाई सम्बोधन गरेको पाइन्छ । जुनसुकै नामले पुकारे पनि यो नाच सारा जीव, जीवात्मालाई जल, भोजन, हावा, घाम दिने प्रकृतिको उपासना र आराधना हो । चण्डी नाच्दा गाइने यी हरफले यसै तथ्यलाई इङ्गीत गर्दछ :

आकाशै देवी असिना हुरी 

दूर दिशा भगाइदेउ 

वर्षा है भरि मनसुने झरी 

सरर पारी देउ

प्रकृति देवी खोला र नाला 

ठेगानमा राखिदेउ 

सिमे र भुमे पानी मूल 

धर्तीमा फुटाइदेउ 

रक्ष गर पारुहाङ । 

गीतमा पारुहाङ र सुम्निमाको चर्चा हुन्छ । यो पनि सृष्टि र प्रकृतिको लोककिंवदन्तीमा आधारित छ । उदयपुरका एक जना वृद्ध राई बाको मुखबाट यो किंवदन्ती सुनेको थिएँ :

सुरुमा यो ब्रह्माण्ड शून्य थियो । यसको पालनका निम्ति सृष्टिकर्ता निनाम्माले पारुहाङ र सुम्निमाको सिर्जना गरे । पूर्णिमाको चन्द्रमाझैँ सुम्निमा यौवन अवस्थामा प्रवेश गर्दै गइन् तर सुम्निमा पृथ्वीमा एक्लै थिइन् । यो चाल पाएर आकाशबाट पारुहाङले सुम्निमाका निम्ति धर्तीमा सुनको काइँयो झारिदिए । यो उपहार कसले पठायो, त्यो थाहा पाउनलाई सुम्निमाले धर्तीबाट आकाशतिर चरा पठाइन् ।

उक्त चराले पृथ्वीमा समाचार ल्यायो कि पारुहाङलाई धर्तीप्रति आगाध प्रेम छ । उक्त सन्देश पाएपछि सुम्निमा खुसीले गद्गद् भइन् । एक दिन शरद ऋतुको मादक वातावरणमा पारुहाङ धर्तीमा आए । सुम्निमा र पारुहाङको मिलन भयो । सुम्निमा गर्भवती भएको बेला पारुहाङ भ्रमणमा निस्किएर तपस्यामा लीन भए । पन्छीहरूको मद्दतमा सुम्निमाले मानिस, बाघ, भालु, बाँस गरी चार सन्तानलाई जन्म दिइन् । पारुहाङ तपस्याबाट फर्किएपछि खुसीले नाच्न थाले, जसलाई राईहरूले पारुलाक भनेर नाच्ने गरेको पाइन्छ । 

सुम्निमाबाट जन्मिएका चार सन्तानमा आपसी कलह सुरु भएपछि सुम्निमाले मान्छेलाई पृथ्वी, बाघलाई जङ्गल, भालुलाइ छाडा र बाँसलाई संरक्षण गर्ने बरदान दिइन् । पारुहाङले सन्तानका निम्ति बालीनालीको सृष्टि गरिदिए । स्वर्गतिर प्रस्थान गर्दै भने– ढोल, झ्याम्टा, धनुकाँड, अदुवा र मर्चाका साथ सृष्टि र प्रकृतिको पूजा गर्नु अनि मात्र तिमीहरूलाई यो लोकमा सुखशान्ति प्राप्त हुन्छ । त्यही दिनदेखि सृष्टिकर्ता प्रकृतिको पूजाआजा गरी चण्डी नाच्ने चलन चलेको भन्ने लोकविश्वास छ ।

बालीनाली लगाउने, काट्ने, उठाउनेजस्ता शिलीहरू हुनाले यो साकेला शिलीको नामले पनि चर्चित छ । यस नाचमा सुम्निमा शिली र तावामा खियामा शिली गरी दुई थरी शिली नाचिन्छ । सुम्निमा शिलीमा धान रोप्ने, गोड्ने, मुठा पार्ने, चुट्ने आदि गरिन्छ भने तावामा खियामा शिलीमा कपास छर्ने, टिप्ने, तान बुन्ने आदि गर्दै नाचिन्छ । 

चण्डी पूर्णिमाको दिन सबै इष्टमित्रलाई बोलाइन्छ । बाँस काटेर उजिण्डो बनाइन्छ । आफ्ना गुठीका जङ्गल आदि स्थानमा भेला भएर मिठा मिठा परिकार खाएर मदिरा पान गरेर खुसी साटासाट गर्दै रमाइलो गर्दै नाचिन्छ । यो नाचलाई किराँत समुदायले छुट्टिएका आफन्तहरू एकै ठाउँमा भेला भएर प्रकृतिको महिमा गाउँदै सुखदुःख परस्पर साटासाट गर्ने मौकाका रूपमा पनि लिइन्छ । 

चामलिङ राईहरूमा हातको शिली र वान्तवा राईहरूमा गोडाको शिलीका रूपमा नाचिने यो नाचले वर्षौंदेखि बिछोडिएका चेली र माइतीहरू एकै ठाउँमा जम्मा भएर वसन्त ऋतुको उत्सवमा लीन भएर प्रकृतिको आराधना गर्दै रमाइलो गर्नु हो भन्ने तथ्यलाई अरुण उपत्यकाको सङ्कलनमा रहेको गीतको यो अर्को गेडाले प्रस्ट पार्छ :

ढोलकी बज्यो गजैले 

नाचेर जाउँ बरी मजैले 

फूल फुल्यो बेली, माइती र चेली

नाचेर जाउँ बरी मजैले 

सोई ढोले सोई ।

एकातिर नाचले एकआपसमा सुखदुःख साटासाट गर्ने काम गरेको छ भने अर्कातिर किराँतीहरूबीच एकताको सन्देश पनि प्रवाहित गर्छ । गणेश न्यौपानेको सङ्कलनमा रहेको यो गीतको हरफले यही तथ्यलाई उद्गार गर्छ :

एउटै हाँगो, एउटै बाटो

सँगसँगै जाउँ त स्यामुना

बिजुवा र बिजुवानीको 

एउटै मुन्धुम गाउँ त स्यामुना ।

सदियौँदेखि चल्दै आएका यस्ता लोकगीत, लोकगाथा, लोकनृत्यको सरोकार कुनै राजनीति र विचारधारासँग नभएर सिधै मानव जीवन, पर्यावरण, प्रकृतिसँग रहेको पाइन्छ । त्यसैले लोकगीत, लोकगाथा र लोकनृत्यलाई जोगाउनु जरुरी छ । अनि मात्र प्रकृति र पहिचान जीवित रहन्छ ।