• ७ पुस २०८१, आइतबार

संसदीय व्यवस्था असफल भइसक्यो : विप्लव

blog

नेत्रविक्रम चन्द ‘विप्लव’ । फाइल तस्बिर

काठमाडौं, वैशाख ९ गते। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको बताउनुभएको छ। 

नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उहाँको भनाइ छ। नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

महासचिव विप्लवले नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न कम्युनिष्ट पार्टीलाई आग्रह गर्नुभयो। जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘आजको संसदीय व्यवस्था असफल भयो। नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाइराखेको छ। त्यसैले हामीले योबाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं। छलफल गरौं। हाम्रो यो दृष्टिकोण हो। जनतालाई स्वाधिन बनाउनु छ भने जनताको सत्ताबाहेक अरुबाट सम्भव छैन।’

महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सुरुवात दलहरुले गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।