• ९ मंसिर २०८१, आइतबार

भक्तपुरको सेतु मानिने बिस्का : (बिस्केट) जात्रा

blog

सांस्कृतिक एवं ऐतिहासिक महìवको बिस्काः (बिस्केट) जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । काठमाडौँको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रा र कीर्तिपुरको इन्द्रायणी जात्राजस्तै भक्तपुरको बिस्केट जात्रा सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिन्छ । यो भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो । 

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्रा पहिले चैत मसान्त र वैशाख सङ्क्रान्ति गरी दुई दिन मात्र मनाइने चलन थियो । पछि यसमा भैरव र भद्रकालीका रथजात्राहरू समेत गाभी आठ दिनसम्म धुमधामले मनाउने परम्परा कायम गरियो । नयाँ वर्ष लाग्नु चार दिनअघि भद्रकाली देवीको मूर्तिलाई भैरव मन्दिरका अगाडि पहिले नै तयार गरी राखेको रथमा प्रतिस्थापन गर्ने गरिन्छ । त्यसपछि भैरवलाई पनि रथमा राखेर जात्रा शुभारम्भ गरिन्छ । 

हुन त भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्राको परम्परा सुरु भइसकेको थियो । पूर्वमध्यकालमा भक्तपुरले लगभग तीन सय वर्षभन्दा बढी समयसम्म काठमाडौँ उपत्यकाको राजधानी हुने अवसर पाएको थियो । भक्तपुरलाई राजनीतिका साथै धार्मिक, सांस्कृतिक गतिविधिको केन्द्र बनाउने राजा आनन्ददेव थिए । उनले भक्तपुरलाई केन्द्र बनाई शासन चलाएको गोपालराज वंशावलीमा उल्लेख गरेको छ । सोही वंशावलीअनुसार नेसं ४१४ मा श्री विरमदेवीले इन्द्रकुट बनाएपछि उनका छोरा जयशक्तिदेवले इन्द्रकुटमा ध्वजारोहण गरेको उल्लेख छ । यसै बेलादेखि भक्तपुरमा लिङ्गो गाड्ने परम्परा बसेको मानिन्छ ।   

लिच्छविकालभन्दा अगाडिको यो जात्रा नाग–नागिनी मारिएको खुसियालीमा मनाउन लागेको देखिन्छ भने बिस्केट जात्रालाई तत्कालीन अवस्थामा विश्वयात्रा उल्लेख भएका अभिलेखमध्ये भक्तपुरको तःमारी (पाँचतल्ले मन्दिर अवस्थित) टोलमा भेटिएको छ । सो टोलको भैरवनाथ मन्दिरसँगैको ढुङ्गेधारामा पुरानो अभिलेख छ, जसमा विश्वयात्रा उल्लेख छ । राष्ट्रिय अभिलेखालयमा भएको ग्रन्थमा पनि नेपाल संवत् ७४१ चैत शुक्ल पूर्णिमाको दिन भैरवनाथको रथ लडेको र लिङ्गो उठाएर पूजा गरेको उल्लेख छ । नेपाल संवत् ७०० देखिको अभिलेखमा बिस्केट जात्रालाई विभिन्न खटजात्राका रूपमा उल्लेख गरेको पाइन्छ । राजा जगज्योति मल्लले नेपाल संवत् ७३४–७५७ सालमा भक्तपुर र मध्यपुर ठिमीमा बिस्केट जात्रालाई खटजात्राको रूपमा परिमार्जन गरेको अभिलेख छ ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लका पालामा लिखित अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ । ‘तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ’, संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ भन्नुहुन्छ, ‘यी प्रमाणका आधारमा ‘विश्वकेतु’ भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार ‘बिसिक’, ‘बिस्क’, ‘बिस्का’ हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर ‘बिस्केट’ हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्काः जात्रा भन्ने गरिन्छ ।”

मल्लकालिक ठ्यासफूमा ‘विश्वजात्रा’ र यस अवसरमा प्रस्तुत हुने लिङ्गोेलाई ‘विश्वकेतु’ भनिएको छ । विश्वजात्रा भनेको बिस्केटजात्रा नै हुुनसक्ने ठम्याइ पनि रहेको छ । बिस्केट जात्रामा लिङ्गो ठड्याउने बेलामा टुप्पामा दुई ध्वजा (पताका) फरफराउने गरिन्छ, जसलाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको लिङ्गो हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् भने भक्तपुरवासीहरूले उक्त दुई ध्वजालाई एक जोडी अजिङ्गरको प्रतीकका रूपमा मान्दै आइरहेका छन् । लिङ्गो ठड्याउन प्रयोग गरिने आठवटा डोरीलाई अष्टमातृकाको प्रतीकका रूपमा लिइन्छ । दुई अजिङ्गरको प्रतीकका रूपमा ध्वजा किन फहराइयो भन्ने अनेक किंवदन्तीहरू रहेको पाइन्छ । जसमा एक प्रमुख किंवदन्ती यस्तो रहेको छ ।

परापूर्वकालमा भक्तपुरका एक प्रतापी राजाको छोरी सुन्दरी राजकुमारी थिइन् । राजकुमारीको बिहे गर्न निकै कोसिस गर्दा पनि सफल हुन सकेनन् । त्यसपछि राजकुमारीसँग बिहे गर्नेलाई राजाले राजगद्दी नै सुम्पने बताए । यसरी राजकुमारीसँग बिहे गर्न धेरै कुमार केटाहरू आए । तर पहिलो रातमै सुतिसकेपछि त्यही ओछ्यानमै कुमार केटा मरिरहेको हुन्थ्यो । यसको कारण के रहेछ भन्दा मध्यराति राजकुमारीको नाकका प्वालबाट दुईवटा सर्प निस्केर अजिङ्गरका रूप लिन्थे र बिहे गर्ने कुमार केटालाई डसेर मारिसकेपछि पुनः सानो सर्पका रूपमा नाकको प्वालबाट भित्र पस्थे । यसरी राजाले आफ्नो शयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।

एक दिन अर्कै राज्यको राजकुमार सिकार खेल्दै आउँदा बाटो बिराएर एक जङ्गलमा पुगेछ । जङ्गलबीच सानो झुपडी रहेछ जहाँ एक तान्त्रिक वृद्धा महिला बस्दोरहेछ, सोही महिलाको झुपडीमा बास बसे । त्यो रात तान्त्रिक महिलाले दरबारमा भइरहेको राजकुमारीको विवाहको घटनालाई राजकुमारलाई सविस्तार सुनाए । वास्तविक कुरा थाहा पाएपछि राजकुमारले तान्त्रिक महिलालाई भने, ‘म बिहे गर्न भोलि सूर्यास्त हुनासाथ राजालाई भेट्न जान्छु ।’ उक्त तान्त्रिक महिलाले भने बमोजिम बाटोको बीचमा पुग्दा खड्ग भेट्छ । अनि सो खड्ग लिई दरबार पुगेर राजकुमारीसँग रात बिताउन बसे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नाग–नागिनी निस्केर आए । अनि त्यसले अजिङ्गरको रूप धारण गरी राजकुमारलाई डस्न खोज्यो । त्यसपछि राजकुमारले आफूसँग भएको खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नाग–नागिनी दुवैले भने, ‘हामी एकै ठाउँमा मर्न लाग्यौँ, हामीले प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी विनयपूर्वक आग्रह गरे ।

भोलिपल्ट सधैँझैँ गुठियार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै रहेको देखे । दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुसियालीका साथ सम्पूर्ण जनतालाई देखाउनका लागि नै हरेक वर्ष यो जात्रा मनाउन थालिएको हो । नाग–नागिनीको अन्तिम इच्छाअनुसार ५४ हात लामो सोझो सल्लाको रुखको गोलो परेको लिङ्गोमा दुईवटा ३२ हाते पताका कपडाको तुल माथिदेखि तलसम्म आउने गरी राखिन्छ । यसरी तान्त्रिक विधिपूर्वक दशकर्म विधान पूरा गरी भेलुखेलस्थित ल्योसिङ्खेलमा ठड्याउने गरिन्छ । उक्त पताका नाग–नागिनीकोे प्रतीकका रूपमा राखिएको मानिन्छ भने यसलाई विश्वध्वजा अर्थात् वीरध्वजा भन्ने चलन पनि छ । यस लिङ्गो जात्रालाई तीनै लोक स्वर्ग, मत्र्य र पातालका देवीदेवता र दानवहरू आई हेर्ने गर्छन् भन्ने जनश्रुति छ ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो विधिपूर्वक उभ्याउने गरिन्छ भने वैशाख १ गते लिङ्गो ढालिसकेपछि रथ जुधाएर मात्र जात्रा सुसम्पन्न गरिन्छ । सांस्कृतिक महìव बोकेको बिस्केट जात्रा हेरेमा शत्रु एवं दुःख हरण हुने किंवदन्ती रहेको स्थानीय बासिन्दाहरूको मान्यता रहेको पाइन्छ । 

भक्तपुरमा जस्तै बिस्केट जात्रा टोखामा पनि मनाइन्छ । तर दुवैतिर भने केही भिन्नता रहे पनि किंवदन्तीहरू प्रायः एकै प्रकारको पाइन्छ । टोखामा बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । पहिलो चरणको जात्रा तीन दिन र दोस्रो  चरणको पाँच दिन मनाइन्छ । चैत मसान्तमा लिङ्गो (यँसि) ठड्याएपछि जात्रा सुरु हुन्छ । 

नयाँ वर्षकै अवसरमा साँखुमा पनि बिस्केट जात्रा मनाइने गरिन्छ । यहाँ पनि बिस्केट जात्रा मनाइने सन्दर्भमा भक्तपुरको बिस्केट जात्राको झैँ किंवदन्ती पाइन्छ । ‘बि’ भनेको ‘सर्प’ वा ‘अजिङ्गर’ र ‘सिका’ भनेको ‘मृत्युपछि’को योगबाट ‘बिसिका’ हुँदै ‘बिस्काः’ वा ‘बिस्केट’ जात्रा भएको भनाइ रहेको छ । यस्तै दधिकोट, थिमी, साँगा आदि गाउँबस्तीमा पनि बिस्केट जात्रा मनाउने गरिएको पाइन्छ ।