नवलपरासी समाचारदाता
कावासोती, वैशाख ४ गते । भित्री मधेश र तराईमा स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी मात्र होइन, खेती गरिन्छभन्दा र सुन्दा अचम्म लाग्न सक्छ तर नवलपरासीपूर्वमा यो खेती अहिले फस्टाउँदै गएको छ ।
जिल्लाको कावासोती नगरपालिका–७ का मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती जिल्लामै पहिलो पटक सुरु गरेपछि अहिले भित्री मधेशमा फस्टाउँदै गएको छ ।
पराजुुलीले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक दुई लाख रुपियाँको लगानीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको पराजुलीले बताउनुभयो । “प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु-याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “चार महिनाअघि प्लास्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।”
हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको पराजुलीले बताउनुभयो । प्रतिकिलो छ सय रुपियाँका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको छ । उहाँको अथक प्रयासपछि अहिले यो क्षेत्रमा खेती गर्ने किसानको सङ्ख्या करिब चार सय पुगिसकेको पराजुलीले बताउनुभयो ।
“स्थानीय बजारसँगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ,” उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ । सुरुमा आठ सय प्रतिकेजी बिक्री भएकामा अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ, धान्नै गाह्रो भइसकेको छ ।”
दुई कट्ठा क्षेत्रफलमा लगाएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी हुन थालेको छ । अहिलेसम्म दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको
भनाइ छ ।
“इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषिविज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ,” उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ । अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ, राम्रैसँग फल्न सुरु गरेको छ ।” अहिले यो क्षेत्रमा लाखौँ बिरुवा रोपिएका छन् ।
एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगारसमेत दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना रहेको पराजुलीले बताउनुभयो । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरबुजा, ड्र्यागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो ।
ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ,” उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री र रातमा सातदेखि १३ डिग्री सेल्सियसको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।”