• १४ पुस २०८१, आइतबार

अचार बिक्री नहुँदा उद्यमीहरु चिन्तित

blog

गुल्मीका उद्यमी महिलाले तयार पारेको अचार । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ३ गते । आफैले तयार पारेको अचार बिक्री नभएपछि गुल्मीका महिला उद्यमी चिन्तित बनेका छन् । गुल्मी दरबार गाउँपालिका –१ जुभुङ्गकी ४० वर्षीया सरस्वती गौतम आफैले तयार पारेको अचार बिक्री नहुँदा चिन्तित हुनुभएको हो ।

गाउँपालिकाबाटै अचार तयार पार्ने तालिम लिनुभएको गौतम सीपलाई उपयोग गर्नुपर्छ भन्ने उद्देश्यले अचार तयार गर्ने उद्यमी बनेको बताउनुभयो । तालिम प्राप्त गरेसँगै आफु उत्साहित भएको उहाँले बताउनुभयो । अचार बिक्री नहुँदा भने चिन्ता बढेको उहाँको भनाइ छ । 

सरस्वती र निशा पौडेल गौतमले मिलेर गाउँपालिकामा दिदीबहिनी अर्गानिक अचार उद्योग दर्ता गर्नुभएको छ । थुप्रै पटक अचार नबिकेर फाल्नु परेको सरस्वती गौतमले बताउनुभयो । “बट्टा, मसला, मिक्चर र कराईलगायत अचारको कच्चापदार्थ खरिदमा थुप्रै रकम लाग्छ” उहाँले भन्नुभयो, “सोचेअनुसारको अचार बिक्री नभएपछि गाउँपालिकासँग समन्वय गरेर व्यवसायको आगामी रणनीति बनाउने निर्णय गरेका छौँ ।” 

एक हप्ताको तालिमले मेथी, लसुन, मिक्सआँप, तामा, कागती र अमलालगायतका अचार बनाउन सिकेपछि आफै व्यावसायिक बन्ने सोँच पलाएको उहाँले बताउनुभयो । गाउँमा अचार बनाएपछि अवलोकनका लागि पुगेको गाउँपालिकाको टोलीले अचार तयार पार्न उत्साह थपेको उहाँको भनाइ छ । 

गाउँपालिकाले अचार बनाउने तालिमसँगै लघुउद्यम कार्यक्रममार्फत उद्यमी सिर्जना गर्ने काम गरिरहेको छ । लघुउद्यम अन्तर्गत तरकारी खेती उत्पादन, पशुपालन, सिलाइ–कटाई, डलकुशनलगायत साना उद्यम व्यवसायमा काम गरेको गाउँपालिकाले जनाएको छ ।