• १४ पुस २०८१, आइतबार

पाठ्यपुस्तक दार्चुला भित्रियो, विद्यार्थीको हातमा छिट्टै पुग्ने

blog

दार्चुलाको गोकुलेश्वरस्थित पुस्तक बिक्रेता साउँद पुस्तक भण्डार । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, वैशाख ३ गते । शैक्षिकसत्र सुरु भएसँगै दार्चुलामा पाठ्यपुस्तक आइपुगेको छ । यसअघि नै स्थानीय तहहरूले पाठ्यपुस्तक खरिदका लागि विद्यालयको खातामा रकम निकासा गरिसकेका थिए । विद्यालयहरूले बिक्रेता (स्टेशनरी) छनोट गरेर विद्यार्थी सङ्ख्या अनुसार आवश्यक पाठ्यपुस्तक समयमै मगाएपछि पाठ्यपुस्तक समयमा पुगेको हो ।

दार्चुलामा आधारभूत र माध्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अध्ययनरत छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरी समन्वय भइरहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाइन्छ उहाँले भन्नुभयो, “भर्ना सप्ताह पनि एक हप्ता मात्रै बनाउने भन्नेछ । विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसक्छ ।”

जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट जिल्लाका स्टेशनरीले केही विषय बाहेक विद्यार्थीको माग बमोजिमका अधिकांश पुस्तक ल्याइसकेका छन् । सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरालगायत विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख धुब्रराज पन्तले जानकारी दिनुभयो । 

माग भएको अधिकांश पुस्तक जिल्लामा पुगिसकेको साउद पुस्तक भण्डार गोकुलेश्वरका सञ्चालक नरबहादुर साउँदले जानकारी दिनुभयो । शैल्यशिखर, गोकुलेश्वरलगायत स्थानीय तहको पाठ्यपुस्तक आफूले ल्याइसकेको उहाँले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दार्चुलाका नौ वटै स्थानीय तहका पुस्तक विक्रेताहरूले धनगढीबाट पाठ्यपुस्तक दार्चुला ल्याइसकेका छन् । 

विद्यालयमा मात्रै पाठ्यपुस्तक लग्न बाँकी रहेकाले अबको एक हप्ताभित्रै विद्याद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसक्ने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो । आइतबार सबै स्थानीय तहबाट जानकारी मागेर विवरण केन्द्रीय निर्देशनालयमा पठाइसक्ने उहाँको भनाइ छ ।