• १३ असोज २०८१, आइतबार

चिकित्साशास्त्रको स्नातकोत्तर तहको भर्ना सच्याउन सांसद् कार्कीको माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की । फाइल तस्बिर

काठमाडौं, वैशाख ३ गते। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्साशास्त्र अन्तरगतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको छ। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नुभएको हो। 

सरकारले बढी अङ्क ल्याएका विद्यार्थीलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरेर सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उहाँले सरकारलाई सुझाव पनि दिनुभयो। 

सांसद् कार्कीले भन्नुभयो, ‘‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ। स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ। अदालतबाट उचित आदेश प्राप्त भयो। तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन। राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था छ। एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो। तर, यहाँ यस पटकको त्रुटिपूर्ण कार्यविधिले कम अङ्क ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढी अङ्क ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था सिर्जना भएको छ। यसले गर्दा जेहेन्दार विद्यार्थीको मेहनतमाथि पनि कुठाराघात भएको छ। नियमावली र ऐनको ममलाई पनि यहाँ मिचिएको छ।’’

सांसद कार्कीले यो समस्या समाधानको उपायसमेत दिनुभएको छ। सांसद कार्कीले भन्नुभयो, ‘‘विगतका वर्षमा झैँ कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ। ऐन र नियमावलीको मर्मलाई समेट्छ। अदालती आदेशको पनि सम्मान पुग्छ। तसर्थ, सभामुख महोदयमार्फत म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु-तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस्। थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाइयोस्।’’

सांसद कार्कीले सरकारले जेहेन्दार विद्यार्थीमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थालाई थप क्षति हुने कुनै पनि खालको काम गर्नु नहुनेसमेत स्पष्ट पार्नुभयो।