मकवानपुर समाचारदाता
हेटौँडा, वैशाख २ गते । शहीद स्मारक नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्यस्थल बनेको छ। हेटौँडा उपमहानगरपालिका–११ मा रहेको शहीद स्मारकमा विगतका वैशाख १ गतेझैँ यस पटक पनि नयाँ वर्षको पहिलो दिन घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लागेको छ।
मकवानपुर आसपासका जिल्लाबाट शुक्रबार ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक शहीद स्मारक पुगेका थिए। कोही घुम्न त केही वनभोज खान साथीभाइ, टोल छिमेकी र परिवारसँगै आएका थिए।
शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते २० हजारभन्दा बढीले स्मारक प्रवेश गरेको जानकारी दिनुभयो। तराईबाट वनभोजका लागि ४० वटा समूह आएको उहाँले बताउनुभयो।
बिहानैदेखि टोल विकास संस्था, सहकारी संस्था, टोलछिमेक र पारिवारिक रूपमा मिलेर शहीद स्मारक आएको उहाँले बताउनुभयो। स्मारकमा बनेको झरनामा सेल्फी लिने र तस्बिर खिचाउनेको भिड लागेको थियो। कार्यालय प्रमुख न्यौपानेले विगतका वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको बजेटमा संरचना निर्माणलगायतका खर्च चलाउँदै आएकोमा चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट नै संरचना निर्माण भइरहेको जानकारी दिनुभयो।
विगतका वर्षमा फागुन–चैतमा प्रायः सुनसान रहने शहीद स्मारक यो वर्ष अवलोकन गर्न आउने आन्तरिक पर्यटकको राम्रै उपस्थिति रह्यो। कात्तिक, मङ्सिर र पुसमा वनभोज आउनेको भिड लाग्ने तथा नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा आउनेको चापले थेगिनसक्नु हुने गरेको बताउँदै कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, “यो वर्ष भने फागुन–चैतमा आन्तरिक पर्यटकको आगमन राम्रै रह्यो।”
कार्यालय प्रमुख न्यौपानेले विगतमा कोरोनाका कारण पर्यटकीय गतिविधि शिथिल बनेको स्मारकमा यस वर्ष फागुन–चैत महिनामा समेत आएका आन्तरिक पर्यटकको भिडले भरथेग गर्न सहयोग पुगेको जानकारी दिनुभयो। फागुन महिना लागेपछि चैतको अन्तिम समय आउँदासमेत दैनिक पाँच–सात सयभन्दा बढी आन्तरिक पर्यटक शहीद स्मारक भ्रमणका लागि आएका थिए। शहीद स्मारकमा शहीद स्तम्भ, चिडियाघर, बाल उद्यान, राजनीतिक नेताहरूको नाममा पार्क, सङ्ग्रहालयलगायतका मनोरञ्जनस्थल रहेका छन्।