• १३ मंसिर २०८१, बिहिबार

तौलपुल सञ्चालन गर्ने तयारी

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, वैशाख २ गते  । सवारी दुर्घटना नियन्त्रण र सडक संरक्षणका लागि तौलपुल सञ्चालन गर्ने तयारी गरिएको छ। 

अरनिको राजमार्ग तथा बीपी राजमार्गमा चल्ने टिपरलगायतका मालवाहक सवारीसाधनले तोकेभन्दा बढी भार बोक्दा राजमार्गमा दुर्घटनाको जोखिम रहेको र सडक बिग्रेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सवारीको वजन जाँच गर्न तौलपुल सञ्चालन गर्ने तयारी गरेको हो। 

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रशासनले जिल्लामा तौलपुल सञ्चालनको अध्ययन गर्ने क्रममा तीनवटा तौलपुल निर्माण भएको पाएपछि स्थानीय तह, तौलपुल सञ्चालक र व्यवसायीसँग छलफल गरेर तौलपुल सञ्चालन गर्ने तयारी अगाडि बढाएको बताउनुभयो। 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले राजमार्गको दिगोपनलगायतका लागि तौलपुल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। 

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले मालवाहक सवारीसाधनको तौल जोख्ने क्रममा बढी भार बोकेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो। जिल्लाको नमोबुद्ध नगरपालिका–२, भकुण्डेस्थित बीपी राजमार्गमा कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिले तौलपुल निर्माण गरेको छ। यस्तै अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–५ मा र बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५, खड्पुमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिले तौलपुल निर्माण गरेको छ। 

यी तौलपुल निर्माण भएको वर्षौंसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्। पनौती क्षेत्रबाट, बीपी राजमार्गको रोशी क्षेत्र र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर, दोलालघाट क्षेत्रबाट दैनिक ढुङ्गा, गिट्टी र बालुवालगायतका निर्माण सामग्री बोकेर दैनिक हजारौँ सवारीसाधन उपत्यका जाने गरेका छन्।