काठमाडौँ, वैशाख २ गते । मुलुकमा राजनीतिक परिवर्तन भए पनि दलित समुदाय अझै विभेदरहित सामाजिक जीवनमा जीउन नपाएको धारणा व्यक्त गरिएको छ । डा. भीमराव अम्बेडकरको १३२औँ जन्मजयन्तीका अवसरमा नेपाल–भारत दलितमैत्री सङ्घ र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौँद्वारा शुक्रबार संयुक्त रूपमा आयोजित अन्तक्र्रियाका वक्ताले मुलुकमा गणतन्त्र आए पनि दलित समुदाय सम्मानित जीवन बाँच्न राज्यसँग गुहार्नुपर्ने अवस्था कायमै रहेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित समुदायको हकअधिकारको सुनिश्चितताका लागि केही ऐन कानुन निर्माण गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको चर्चा गर्दै केही दलित जागिर खाने ठाउँमा पुगे पनि राज्यको नीति निर्माण गर्ने तहमा पुग्न नसकेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य हर्कमाया विश्वकर्माले डा. अम्बेडकरकै प्रेरणाले विश्वभरिकै दलित, सीमान्तकृत वर्ग समुदाय आफ्नो हकअधिकारका लागि सङ्गठित हुन पुगेको चर्चा गर्दै दलितको हकअधिकारका लागि तीन वर्षभित्र सम्बन्धित ऐन कानुन निर्माण गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरे पनि अझसम्म निर्माण हुन नसकेको बताउनुभयो ।