• १२ असोज २०८१, शनिबार

शम्भुनाथबाबा मन्दिरमा मेला सुरु

blog

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर। तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, वैशाख १ गते । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा एक महिने मेला शुक्रबारबाट सुरु भएको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु भएको हो । 

प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा त्यहाँ मेला आयोजना हुँदैआएको छ । शम्भुनाथ नगरपालिकाले आयोजना गरिएको एक समारोहबीच नगरका कार्यवाहक प्रमुख अनिताकुमारी चौधरीले मेलाको उदघाटन गर्नुभयो । 

धार्मिक पर्यटककलाई आकर्षित गर्नेगरी भौतिक संरचना निर्माणका लागि डीपीआरको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । डीपीआरअनुसार अगामी आर्थिक वर्षदेखि निर्माण कार्य प्रारम्भ हुनेछ । 

नयाँ वर्षको पहिलो दिन १ गतेबाट नै नगरपालिकाले ठेक्का दिई मेला आयोजना गर्दैआएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दक्षिणतिर अवस्थित मन्दिरमा मेला भर्न लाखौँ दर्शनार्थीको भिड लाग्नेगरेको छ । 

मेला हेर्न नेपालका मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा र भारतको बिहार राज्यको सुपोल जिल्लाबाट भक्तजन आउनेगर्छन् । मन्दिरभित्र रहेको कालो पत्थरको शिवलिङ्गलाई भक्तजनहरुले पूजाआजा गर्छन् । एक फिटभन्दा पनि कम आकारमा भेटिएको उक्त शिवलिङ्गको लम्बाइ अहिले चार फिटभन्दा बढी पुगेको स्थानीय विजयकुमार साहले जानकारी दिनुभयो ।

१५ औँ शताब्दीमा सप्तरीमा चन्द्रकेतु नामका राजा थिए । यिनै राजाले जिल्लाको उत्तरपूर्वमा राजमार्ग नजिक पर्ने धर्मपुर गाउँदेखि करिब पाँच किलोमिटर उत्तर चुरे पर्वतमाथि उनकी कुलदेवी चन्द्रभागा भगवतीको स्थापना गरेका जनविश्वास छ । उक्त मन्दिरको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । 

यसै मन्दिरको एउटा स्तम्भलाई शम्भुनाथ भनी पूजा गर्ने चलन छ । कसैलाई चर्मरोग भएको अवस्थामा त्यहाँ भाकल गरेपछि चर्मरोग आफै हराएर जान्छ भन्ने जनविश्वास रहेको छ । चर्मरोग वा कोठी भएको अवस्थामा श्रद्धापूर्वक भाकल गरेपछि कोठी स्वतः हराएर जाने गरिन्छ भन्ने विश्वास छ ।