काठमाडौँ, बैशाख १ गते । गोरखापत्र दैनिकका उपसम्पादक लक्ष्मीप्रसाद उपाध्याय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट विभूषित हुनुभएको छ । संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण नयाँ वर्ष २०८० का दिन राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएका बिभूषण वितरण कार्यक्रममा उहाँ विभूषित हुनुभएको हो ।
नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको मूल्यांकन गर्दै सम्मानस्वरुप प्रबल जनसेवाश्री मानपदवीबाट बिभूषित गरिएको व्यहोरा बिभूषणपत्रमा उल्लेख छ । नेपालको संविधानअनुसार समाजका बिभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकबाट हरेक वर्ष विभूषित गर्ने गरिएको छ ।
नेपाल सरकारका तर्फबाट प्रदान गरिएको सो विभूषण तथा प्रमाणपत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बिभूषण समितिका अध्यक्ष पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।