राजन रावत
हुम्ला, चैत २९ गते । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ ।
कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले झुन्ड्याएको मोबाइलमा लाउडस्पिकरमा कुराकानी गर्दै कोल्टी क्षेत्रको अन्यत्र नेटवर्कले काम नगर्ने भएपछि स्थानीय सबैले सोही स्थानबाट मोबाइलमा कुराकानी गर्नुपरेको बताउनुभयो ।
त्यो पनि कम मूल्यका मोबाइलबाट सम्पर्क हुने गरेको छ । उहाँले मोबाइललाई बिहानैबाट घरमा झुण्ड्याएर राख्ने गर्नुभएको छ । अरू मोबाइल नभएका छिमेकीहरूले पनि आवश्यक परेका बेला उहाँकै मोबाइलबाट सम्पर्क गर्नुहुन्छ ।
उहाँले विगत चार वर्षदेखि यसरी कोल्टीका स्थानीयले सञ्चार सम्पर्क खेप्नुपरिरहेको बताउनुभयो । बढी मूल्यका मोबाइलले काम नगर्ने भएपछि कम मूल्यका मोबाइलहरू सो स्थानमा प्रयोग हुँदै आएका छन् ।
उहाँले मोबाइल सम्पर्क गर्न कोल्टीबाट एक घण्टा टाढाको डाँडामा जानुपर्ने वा घरको भित्तामा मोबाइल झुण्ड्याएर सम्पर्क गर्नुको अन्य विकल्प नभएको बताउनुभयो । कोल्टीमा नेपाल टेलिकमको सेवाले मात्र केही रूपमा काम गर्ने गरेको छ । यो विधि बाजुरापट्टिका स्थानीय र सुरक्षाकर्मीहरूले नअपनाएर हुम्लातर्फको प्रहरी चौकी कुवाडीका प्रहरीहरूले पनि सोही विधि अपनाउने गर्नुभएको छ ।
प्रहरीले घरको ढोकामा मोबाइल झुण्ड्याएर सञ्चार सम्पर्क गर्नु परि रहेको जनाएको छ । कवाडी नदीको गहिरो खोचमा बस्ती र पहरी चौकी रहेको कारण सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।