• ६ जेठ २०८१, आइतबार

शहीद स्मारक फागुन–चैतमा गुल्जार

blog

हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा देखिएको चहलपहल । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत २८ गते । विगतका फागुन–चैतमा प्रायः सुनसान रहने शहीद स्मारक यो वर्ष गुल्जार बनेको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा पर्यटकहरुको आगमन अत्यन्त न्यून हुने गरेको थियो । तर यो वर्ष बिहानैदेखि आन्तरिक पर्यटकको घुँइचो लागेकाे छ ।


शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेलेले विगतमा कोरोना कहरका कारण पर्यटकीय गतिविधि सुस्ताएकाे स्मारकमा यस वर्ष आन्तरिक पर्यटकको भीडले भरथेग सहयोग गरेको जानकारी दिनुभयो ।

चैत २८ गते मङ्गलबार बिहान समेत टोल विकास संस्था, सहकारी संस्था र शैक्षिक भ्रमणका लागि ठूलै सङ्ख्यामा शहीद स्मारक पुगेका छन् । केही नेपाली परम्परागत भेषभूषामा सजिएर तस्बिर खिचाउँदै, कोही सेल्फी र काेही सामूहिक तस्बिर खिच्दै थिए । कोही भने चिडियाघरमा जनावरसँग रमाइलो गरिरहेका थिए ।


कात्तिक, मङ्सिर र पुसमा पिकनिक र नेपाली र अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेको चापले थेगिनसक्नु भएकाे बताउनुहुँदै कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘यो वर्षकाे फागुन चैतमा आन्तरिक पर्यटकहरुको राम्रै उपस्थितिले उत्साहित छौं ।’’

उहाँका अनुसार फागुनदेखि चैतको अन्तिमसम्म आउँदा देनिक पाँच–सात सयभन्दा बढी आन्तरिक पर्यटक आएका छन् । स्मारक परिसरमा पर्यटक आकर्षित गर्न थप संरचनाहरुसमेत निर्माणाधीन छन् ।