• ४ जेठ २०८१, शुक्रबार

विद्यालय प्रथमलाई बाख्रा उपहार !

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २८ गते । हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा प्रथम हुने बालकलाई बाख्रा र पाठा उपहार दिइएको छ। 

हरिवन–८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले बन्द हुनै लागेको विद्यालयलाई उकास्ने अभियानअन्तर्गत नमुनाका रूपमा ‘स्कुल फस्ट’ हुने कक्षा १ का बालक निश्चल मोक्तानलाई पाठा र बाख्रा प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले बालकलाई प्रदान गरिएको बाख्रा र पाठाबाट उनको परिवारलाई आयस्रोतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो।

वार्षिक परीक्षाको नतिजा आइतबार सार्वजनिक गर्दै वडाध्यक्ष ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेती, प्रधानाध्यापक डिल्लीराम भट्टराईलगायत भएर विद्यालयमा प्रथम हुने बालक मोक्तानलाई शैक्षिक सामग्रीसहित बाख्रा र पाठा प्रदान गर्नुभयो। वडाध्यक्ष ढुङ्गानाले आफू यस विद्यालयलाई नमुना बनाउने उद्देश्यसहित पठनपाठन सुधार गरी विद्यार्थी सङ्ख्या बढाउने अभियानमा लागि परेको बताउनुभयो। 

चापिनीको यो विद्यालयमा अहिले २२ जना विद्यार्थी मात्रै छन्। वडाध्यक्ष ढुङ्गानाले लालबन्दी नगरपालिका–६ मा रहेको प्रेमज्योति आधारभूत विद्यालय कुनै समय विद्यार्थी नपाएर बन्द हुनै लागेको अवस्थाबाट अहिले सुधार गर्दै लगेपछि दुई सयभन्दा माथि विद्यार्थी पुगेको उदाहरण दिँदै चापिनीको यो विद्यालयलाई पनि प्रेमज्योतिकै अवस्थामा पु-याउने लक्ष्य रहेको बताउनुभयो। अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने लक्ष्य लिएको चुरे जनता आधारभूत विद्यालयमा वडा कार्यालयले निजी स्रोतबाट अङ्ग्रेजी र विज्ञान विषयको शिक्षक नियुक्त गर्न प्रक्रिया अघि बढाइसकेको छ।