• १० मंसिर २०८१, सोमबार

तनहुँ–१ मा नौ जनाको उम्मेदवारी कायम

blog

जिल्ला समन्वय समिति तनहुँमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, चैत २३ गते । आगामी वैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ । 

उपनिर्वाचनमा भाग लिन नौ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको र सबैको  कायम भएको मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । 

एक महिला र आठ पुरुषले उम्मेदवारी कायम भई उनिहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरिएको  उहाँले जानकारी दिनुभयो । 

बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिको उम्मेदवारी कायम भएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गबहादुर राना, नागरिक उन्मुक्ति पाटीबाट भीम सुनार र नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी नेपालका गणेश श्रेष्ठले उम्मेदवारी कायम भएको छ ।  

मङ्गलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दाबी विरोध गर्ने समय तोकिएकोमा दाबी विरोध नपरेको र बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी र चुनाव चिन्ह प्रदान गरिएको कार्यालयले जनाएको छ । 

तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको  जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 

तनहुँ–१ बाट निर्वाचित बन्नुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यसक्षेत्रमा आगामी वैशाख १० गते प्रतिनिधी सभासदस्यको उपनिर्वाचन हुन लागेको हो । 

पौडेलले २५ हजार ३ सय ६१ मत मत पाएर विजयी हुनु भएको थियो । उहाँको प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो  । 

त्यस्तै, सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउनु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो ।