• १३ वैशाख २०८१, बिहिबार

तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), चैत १९ गते । कुनै समय शिरफुले भाकाले गाउँघर गुञ्जयमान हुन्थे । मेलापात, गोठ, ओडार र चौतारीमा भेला भएर शिरफुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन  थियो तर आजकल नयाँ संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीत लोप हुँदै जान थालेका छन् । 

यस्तै लोपोन्मुख शिरफुले भाकाको संरक्षणमा बेनी नगरपालिका–९ स्थित गलेश्वरमा बसोबास गर्नुहुने मगर समुदायका पाका र युवा पुस्ता जुट्न थालेका छन् ।  ”शिरफुले भाका मगर समुदायको कला, संस्कृति र पहिचान हो । त्यो बेला गाउँघरतिर शिरफुले भाकाले गुञ्जयमान हुन्थे । आधुनिक संस्कृतिको विकाससँगै पुरानो ठेट भाकाहरू हराउन थाले,” गलेश्वरका धनीलाल गर्बुजाले भन्नुभयो, “शिरफुले भाका नयाँ पुस्तामा हस्तान्तरण गर्न र सिकाउन आवश्यक छ ।” शिरफुले भाकामा मादल बजाउँदै एक जनाले गीतका टुक्का झिक्ने र  महिला तथा पुरुषले लय मिलाएर छोप्ने गरिन्छ । यो निकै रमाइलो भाका भएको गर्बुजाले बताउनुभयो । उहाँले भाका लोप हुन थालेपछि पाका र युवा पुस्ता मिलेर संरक्षण गर्न थालिएको बताउनुभयो । नयाँ पुस्तालाई सिकाउन समयसमयमा पाका र युवा पुस्तासँगै बसेर शिरफुले भाका गाउने गरिएको चिमखोलाका डेकबहादुर पुनले बताउनुभयो । “शिरफुले भाका मगर समुदायको प्रतिनिधित्व गर्ने कला र संस्कृति हो,” पुनले भन्नुभयो, “शिरफुले भाका मौलिक छ । पहिला गाउँघरमा मेलापर्व र खेतबारीमा यो भाकाले गाउँ नै गुञ्जयमान हुने गथ्र्यो ।”

शिरफुले भाकाको गीत पहिलो पटक २०४२ सालमा रेडियो नेपालमा वरिष्ठ लोकदोहोरी गायिका धनकुमारी थापाले रेकर्ड गराउनुभएको थियो । पछिल्लो समय केही मात्रामा यही भाकाका म्युजिक भिडियो निर्माण हुन थालेका छन् । मगर समुदायले मेलापात, मेलापर्व र चौतारीमा गाउने शिरफुले माया गीत आजकल सुनिन छाडेकाले सबै मिलेर संरक्षण गनुपर्ने नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताउनुभयो ।

 चिमखोलाका डेकबहादुर पुनले  विगतमा मगर समुदायका युवकयुवती दिनमा मेलापात गरेर फर्किएपछि बेलुकीको खानपान सकेर रमाइलोका लागि समयानुसार कहिले घरमै त कहिले गोठ, ओडार वा चौतारीमा जम्मा भएर यो गीत गाउने गरेको स्मरण गर्नुहुन्छ । शिरफुले भाकाका साथै मगर समुदायमा सालैजो, यानीमाया, सुनीमाया, अभिजाले माया, झ्याउरे र चुट्का भाका लोकप्रिय छन् । म्याग्दीको ग्रामीण भेगका मगर समुदायमा धार्मिक कार्यका अवसरमा समूहमा बसेर शिरफुले भाका गाउने प्रचलन छ ।