• ९ मंसिर २०८१, आइतबार

अन्ततः आफैँमाथि व्यङ्ग्य कस्दै मन्टो (जीवनी)

blog

लेखक सलमान रुस्दीको ठहर छ– ‘दक्षिण एसियाका सर्वश्रेष्ठ कथाकार हुन् सआदत हसन मन्टो ।’ खासगरी उर्दु साहित्यमा त उनको ईष्र्यालाग्दो उपस्थिति छ । पञ्जावमा जन्मेका मन्टोले सक्रिय सिर्जनात्मक समय बम्बईमा कटाए । कृशन चन्द, इस्मत चुगताई, राजेन्द्रसिंह वेदी आदि लेखक जमात मन्टोका किस्साकहानीमा लट्ठिन्थे । अशोककुमार र श्याम चड्डा जस्ता कलाकारका सङ्घर्षका साक्षी रहे उनी, थोरै बम्बई सिने दुनियाँको हिस्सा पनि बने । उनी आफूलाई ‘चल्ताफिर्ता बम्बई’ मान्थे । बम्बईका अँध्यारा कुना र गल्लीमा विभिन्न कामधन्दामा संलग्न पीँधका मान्छेका कथा लेख्थे उनी । नारी संवेदना असाध्यै धेरै पाइन्छ उनका कथामा । बम्बईका नगरवधूहरूका कथाव्यथालाई यति मानवीय आँखाले सायदै लेखिएको होला । दस रुपियाँ, बाँझ, बु, विसमिल्लाह, हटक, खोल दो, काली सलवार, मोजेलजस्ता उनका कथाहरू केवल कथा मात्र होइनन्, जीवनका यथार्थ हुन्, बम्बईकै भावभूमिमा रचिएका नारी वेदनाका कहाली लाग्दा दस्तावेज हुन् ।  

भारत पाकिस्तान विभाजनलगत्तै उनी लाहोर गए । प्रकटमा त अनन्य मित्र श्यामसँगको विवादले उनलाई पाकिस्तान जान बाध्य पा¥यो भनिन्छ । तर विभाजनअघि बम्बईको खुलापनमा रमाएका मन्टो एकाएक पाकिस्तान किन गए, रहस्यकै गर्भमा छ । बु, दस रुपियाँजस्ता कथाका कारण बम्बईमै मुद्दामामिला र कोर्टकचहरी झेलेका मन्टो पाकिस्तान पुगेपछि उसैगरी झमेलामा परे ।  उनको कथा ‘ठन्डा गोस्त’का कारण अरू मानसिक तनाव खेपे, यस कथालाई अश्लील ठह¥याइयो, उनलाई धेरै दुःख दिइयो । उनी कथाकार होइनन्, अश्लील लेखक हुन् भन्ने भ्रम छरियो । ‘मन्टोकी बदनाम दस कहानियाँ’ जस्ता शीर्षकमा बेचिन्थे उनका कथाहरू । उनलाई पढ्नु भनेको पोर्नोग्राफीमा डुब्नु हो भन्नेहरू धेरै थिए त्यतिखेर । भारतको आजादी, कामदार वर्ग आदिका बारे नलेखेर खाली महिला र यौन सन्दर्भमा धेरै लेखे भन्दै उनको आलोचना हुन्थ्यो । उनी भने ढुक्कै भनिदिन्थे, ‘अगर आप मेरे अफरानौको वर्दास्त नहीं करसकते तो ये जमाना ही नाकाविले वर्दास्त है (यदि तपाईं मेरो कथाकहानीलाई सहज स्वीकार्न सक्नुहुन्न भने, यो दुनियाँ नै सहनशीलताको योग्य छैन ।)’ 

समाजका असहज यथार्थलाई बिनापरिमार्जन पस्कने मन्टो धेरैका लागि आँखाका कसिङ्गर बने । किन यत्ति उदाङ्गो पाराले लेख्छन् मन्टो ? किन उनी अश्लीलतालाई प्रश्रय दिन्छन् ? प्रश्नभन्दा पनि बिझाउने आरोप थिए यी, उनीमाथि लगाइएका । तमाम यस्ता आरोपलाई खण्डन मात्र होइन, खारेज गर्दै उनी कुर्लिन्थे, ‘समाज पहिल्यैदेखि नै नाङ्गो थियो । मैले त्यही समाजलाई जस्ताको तस्तै देखाइदिएको हो । समाजका करतुतलाई जामा लगाइदिनु मेरो काम होइन ।’

मन्टो भन्थे, ‘निमके पत्ते कड्वे सही, खुन तो साफ करता है । (निमको पात तीतो भए पनि रगत त सफा गर्छ नि) । यही तीतो यथार्थ छ उनको कथा ‘ठन्डा गोस्त’मा । कथाको पृष्ठभूमि भारत पाकिस्तान विभाजन रहेको छ । यस कथामा लुटेरा ईश्वर सिं उसकी प्रेमिकासँग यौनक्रीडामा संलग्न छ तर पूर्वघटनाले विचलित बन्दै । यस्तो अवस्थामा उसकी प्रेमिका कुलवन्त कौरलाई लाग्छ, ऊ अरूसँगै सल्केकोले आफूलाई त्यति महìव दिइरहेको छैन । तर दङ्गाफसादबीच लुटपाट गर्ने क्रममा एक सुन्दर युवतीलाई देखेर मोहित भएको र सम्भोग गरेको स्वीकार्छ ऊ कुलवन्तसँग । यो सुनेर आक्रोशले रन्थनिँदै तरबार प्रहार गर्छे आफ्नो प्रेमीलाई । अरू प्रष्ट्याउँदै थप्छ ईश्वर सिं, ‘तर ऊ पहिल्यै मरिसकेकी थिई, विल्कुल चिसो मासुझैँ लाग्थ्यो उसको देह ।’ ईश्वरसिंजस्तो लुटेरामा रहेको मानवता यसरी सतहमा ल्याउँछन् मन्टो । कथा त यही सकिन्छ तर यस कथाको अन्त्यले निरन्तर झट्का दिन्छ पाठकमनमा । ‘नङ्गी आवाजे’ कथामा साँघुरो ठाउँमा घरजम गरी एकसाथ बसेका कैयौँ परिवारका कथा छन् । रातको सन्नाटामा यौन सम्पर्क गर्ने क्रममा सुनिने आवाज र त्यसबाट सिर्जित असहजताको सजीव र रोचक चित्रण छ यसमा ।

समाजका नाङ्गो र कठोर सत्यलाई उजागर गर्थे मन्टो तर हरदम व्यङ्ग्यको चास्नीमा घोलेर । उनका रचनामा निहित व्यङ्ग्यको चर्चा गरिरहँदा प्रसिद्व कथा ‘टोवा टेक सिं’ कसैगरी छुटाउन सकिँदैन । कथासार यस्तो छ– विभाजनपछि जसरी भारत र पाकिस्तान कुन देश रोज्ने भनेर आम नागरिकलाई छनोटको अधिकार दिइयो, त्यसरी नै सीमाक्षेत्रका मानसिक अस्पतालका रोगीलाई पनि त्यसै गर्ने छुट दिइयो । सबै आआफ्नो रोजाइअनुसार भारत वा पाकिस्तानतिर लागे । धेरैजसो मुस्लिमले पाकिस्तान रोजे भने कैयौँ हिन्दु कैदी भारत पसे । तर टोवा टेकसिं नाम गरेको पात्र भने कतै जान चाहेन । ऊ जहाँ छ त्यहीँ रहने अड्डी लिइबस्यो । तर उसलाई जबरजस्ती एउटा देश छनोट गर्न करकाप गरियो, घिसारेर सीमापारि पठाउन खोजियो । यही क्रममा दुई देशबीचको सीमारेखा (दसगजा)मा उसले प्राण त्याग्यो । यसरी विभाजित मानव मनोदशाको सजीव र पीडायुक्त कथानक छ यसमा । खासमा यो कथा मन्टोको आफ्नै पीडाको आख्यानीकरण हो जुन अझै भोगिरहेका छन् थुप्रै मान्छेले, पाकिस्तान र भारतमा विभक्त भएपछिको लामो अन्तरालमा पनि ।

कथामा मात्र होइन, निबन्धमा पनि उनको व्यङ्ग्य शैली प्रखर छ । अङ्कल स्याम अर्थात् संयुक्त राज्य अमेरिकालाई उनले लेखेको चिठीका हरेक अनुच्छेद यसका प्रमाण हुन् । एक उदाहरण ः ‘मैले भनेका यी सबै तीता यथार्थ हुन् । हामीकहाँ चिनीको अभाव छ नत्र मेरा शब्दमा चिनी घोलेर बडो मिठासपूर्ण बनाउने थिएँ ।’ यसै चिठीको अझ पेचिलो अंश छ– ‘काका, अब पाकिस्तान र भारतबीच युद्ध गराइदिनोस् । यसो गर्दा तपाईंलाई निकै फाइदा हुनेछ । पाकिस्तानले पनि तपार्इंबाट हतियार किन्नेछ अनि भारतले पनि । अनि तपाईंका पाँचै औँला घिउमा हुनेछन् ।’ यसरी बेजोड व्यङ्ग्यले सबलाई हायलकायल पार्थे उनी । 

मन्टो हँसिमजाक मन पराउँथे । उनका मित्र श्यामसँग एक पटक भारतीय क्रिकेट खेलाडीको प्रसङ्ग झिक्छन्, अखबार पढ्दै गर्दा । त्यो खेलाडीको अनौठो थरले दुवै अचम्म मान्छन् । हिप्टुल्ला थर हुन्छ उसको । पछि यही शब्द बातचितमा र लेखनमा पनि भिœयाउँछन् हल्का रमाइलो पाराले । भारत र पाकिस्तान विभाजनपछिका हिंसा, काटमार, बसाइँसराइ यावत् पीडाबीचका कथा टिपेका छन् उनले । यस्तो पीडामाझ पनि उनी हँसिमजाकका सन्दर्भ ल्याउन छाड्दैनन् । कटाक्ष गर्न र व्यङ्ग्य कस्न छाड्दैनन् । ‘हिन्दी वा उर्दु’ निबन्धमा सोडा र लेमनको प्रसङ्ग ल्याएर कटाक्ष गरेका छन् धर्मको नाममा विभाजित जनसमूहमाथि । तर उनका व्यङ्ग्य बुझ्न घोत्लिनै पर्छ, त्यति सजिलै उनको व्यङ्ग्य भाव पक्डिन सकिँदैन । प्रस्तुत लघुकथा ‘गल्ती सच्चाइयो’ले उसरी नै रन्थन्याउँछ, धार्मिक हिंसाप्रति कटाक्ष गर्दै । 

गल्ती सच्याइयो 

‘तिमी को हौ ?’

‘अनि तिमी चाहिँ को ?’

‘हर हर महादेव । हर हर महादेव ।’

‘हर हर महादेव ।’

‘तिमीले महादेवको नाम त लियौ, तिमी हिन्दु हौ भन्ने प्रमाण के छ ?’

‘प्रमाण ? धरम चन्द हो मेरो नाम ।’

‘त्यो त कुनै प्रमाण नै होइन ।’ 

‘ठिकै छ त । मलाई चारै वेद कण्ठस्थ छ । तिमी परीक्षण गर्न सक्छौ ।’

‘हामीलाई वेदबारे केही थाहा छैन । हामी त प्रमाण चाहन्छौँ ।’

‘के भन्या ?’

‘तिम्रो सुरुवाल खोल ।’ 

जब उसले सुरुवाल खोल्यो, हल्लाखल्ला मच्चियो । ‘उसलाई मार, मार ।’ 

‘पर्ख न । कृपया त्यसो नगर । म त तिम्रो भाइ हो । भगवान् कसम, म तिम्रै धर्म मान्ने मान्छे हुँ ।’ 

‘त्यसो हो भने यो के त ?’

‘मेरो इलाकामा शत्रुपक्षको नियन्त्रण थियो । त्यसैले मैले यो पूर्वसावधानी अपनाएको । शरीर बचाउनको लागि गरेको यही मात्र गल्ती हो मेरो । अरू सबै ठीक छ ।’

‘गल्ती भएको रहेछ सच्याइदेऊ ।’

गल्ती सच्याइयो । अनि योसँगै धरम चन्द पनि ढल्यो ।

शासकका लागि त जनता केवल भोटब्याङ्क हुन् । त्यसैले त सर्वसाधारणको दुःखदर्द, भोक, अभाव, मृत्युले शासक वर्गका लागि उति साह्रो चासोको विषय रहेन कहिल्यै । भारत पाकिस्तान विभाजनको पछाडि घटेका लुटपाट, बलात्कार, हिंसाहत्याले मन्टो भने सधैँ व्यथित बने । ती घटनालाई निरन्तर कथाकहानीमा बुनिरहे । अनि शासकवर्गको ढुलमुले व्यवहारमाथि प्रश्न तेस्र्याइरहे । उनी भन्थे– ‘हिन्दुस्तान जिन्दावाद, पाकिस्तान जिन्दावाद । चिच्याई चिच्याई लगाइएका यस्ता नाराले थुप्रै प्रश्न खडा गरेको छ । कुन हो मेरो देश ? मान्छे किन तड्पी तड्पी मर्दैछन् दुवैतिर ? चित्तबुझ्दो जवाफ कसैसँग छैन । कि त हिन्दुस्तानी जवाफ आउँछ कि पाकिस्तानी जवाफ । कि त हिन्दु जवाफ आउँछ, कि मुसलमान जवाफ ।’ मन्टोका यी पीडाले ओतप्रोत उद्गारमा व्यङ्ग्य त छँदैछ, उनको आफ्नै खण्डित जीवनको प्रतिच्छाया पनि भेटिन्छ । भारत पाकिस्तान विभाजन ताकाका विकराल घटनालाई यस्ता धेरै सजीव कथामा ढालेका छन् उनले जहाँ व्यङ्ग्य र पीडाको समान अन्तर्घुलन पाइन्छ । ‘खोल दो’ कथामा हिंसासिर्जित पीडाको त्यही व्यङ्ग्यात्मक कोलाज रहेको छ । यो यस्तो भयानक दर्दनाक कथा हो जहाँ एक वृद्ध बाबु हराएकी छोरी खोजिरहेछ । छोरी सकिना त भेटिन्छे अन्ततः तर कैयौँ पटक बलात्कृत भएपश्चात् । निकै प्रतीकात्मक छ कथाको शीर्षक । हिंसा, युद्ध, विभाजनजस्ता हरेक प्रतिकूलतामा महिला नै ज्यादा प्रताडित छन्, यस तथ्यको प्रमाण हो ‘खोल दो’ ।   

धेरैले अश्लील लेखक भनेर बदनाम गर्न थालेपछि निरीह मन्टोले आफैँप्रति व्यङ्ग्य कस्दै लेखे, ‘धिक्कार छ यो सहादत हसन मन्टोलाई । उसलाई त गाली पनि तरिकाले गर्दैनन् मान्छेहरू ।’ उनको निधनपछि समाधिस्थलमा के लेख्ने, त्यो पनि सुझाएका थिए उनले । ‘यहाँ सआदत हसन मन्टोको लास छ । उसँगै पुरिएका छन् यहाँ, उनका सबै कला र कथा लेखनका रहस्यहरू । माटोको डङ्गुरमा पुरिएको मन्टो सोचिबसेको होला, यी दुईमध्ये को होला महान कथाकार ः ईश्वर वा ऊ आफैँ ।’ आफ्नै बढाइचढाइझैँ लाग्ने यो अंश ईश्वरको अस्तित्वमाथिको व्यङ्ग्यात्मक संशय पनि हुनसक्छ ।   

वास्तवमा पछिल्ला दिनहरूमा बडो सङ्कटबाट गुज्रियो मन्टो परिवार । साना छोरीहरू, मन्टोको बढ्दो रक्सी सेवन र खस्कँदो स्वास्थ्यस्थिति अनि मुद्दामामिलाका कारण थपिएको  तनावबाट आहत थिए परिवार र परिजन । त्यतिखेर केवल केही रकम जुटाउनका खातिर मात्र सामान्य कथा, निबन्धसमेत लेखे मन्टोले । उनी जिउँदै हुँदा उनका रचनाको खासै कदर भएन । 

अहिले त मन्टोका रचना छापा, अनलाइन, श्रव्यदृश्य हरेक माध्यममा निरन्तर उपलब्ध छन् । नाटक बनेका छन् उनका कथाकहानीमा । सन् २०१२ मा उनको शतवार्षिकी मनाइयो, यसपछि त ‘मन्टोम्यानिया’ नै भएको छ अहिले धेरैलाई । मन्टोको व्यक्तिगत र सर्जनात्मक जीवनको मिश्रण गरी बनेको छ सिनेमा ‘मन्टो’, भारत र पाकिस्तान दुवै देशमा । भारतीय निर्देशक नन्दिता दासले धेरै अनुसन्धान र थोरै कल्पना तथा मन्टोको लेखन दुनियाँको घोलघाल गरी बनाएको यसै सिनेमाको यो संवाद अंशले उनको जीवनमाथि निर्मम व्यङ्ग्य गर्छ । 

मन्टो : मैले यति धेरै कथाकहानी लेखेको छु कि तिमीहरू कुनै दिन पनि भोको रहनु पर्नेछैन । 

सफिया (मन्टोकी श्रीमती) : यिनै कथाकै कारण त हामी भोकभोकै मर्दैछौँ ।