• ७ वैशाख २०८१, शुक्रबार

दाउरा प्रयोग घटेपछि जङ्गल हराभरा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, चैत १७ गते । जिल्लाको कमलामाई नगरपालिका–४, मल्लागाउँनिवासी तुलसा दाहालले खाना पकाउँदा तथा घरको अन्य कामका लागि दाउरा प्रयोग गर्न छाड्नुभएको पाँच वर्षभन्दा बढी भयो। उहाँले दाउराको विकल्पमा ग्यास चुलो प्रयोग गर्दै आउनुभएको छ।

प्रविधि विकाससँगै सजिलो हुने भएकाले दाउराको विकल्पमा ग्यास चुलो प्रयोग गरेको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, “दाउरा प्रयोग गर्दा निस्किने धुवाँले घर पनि फोहोर हुन्छ। धुवाँले श्वासप्रश्वास, दमलगायतका रोग निम्तिने पनि उत्तिकै समस्या हुन्छ।” अहिले गाउँमा ग्यास चुलो प्रयोग बढ्दै र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएपछि दाउरा, स्याउला उपयोगमा कमी आउँदा वन–जङ्गल फँडानी रोकिएर हराभरा बन्दै गएको उहाँले सुनाउनुभयो।

वनमा दाउरा, घाँस र स्याउला लिन जाने किसान घट्दै जाँदा सिन्धुली जिल्लामा जङ्गल हराभरा भएका छन्। पछिल्लो समय जिल्लाको सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रका बासिन्दाले समेत दाउराको विकल्पमा ग्यास प्रयोग गर्न थालेका छन्। त्यसैको प्रभाव रुख कटानीमा कमी आई जङ्गल हराभरा हुँदै गएको छ। 

जिल्ला सदरमुकामस्थित च्याउकोट सामुदायिक वनका अध्यक्ष भीष्मराज श्रेष्ठ वनबाट जथाभाबी दाउरा सङ्कलन गरी ल्याउनेलाई जरिवाना व्यवस्था गरेको बताउनुहुन्छ। जथाभाबी घाँस, दाउरा ल्याउँदा वन मासिँदै जाने खतरा बढेपछि जरिवाना व्यवस्था गरेको र अहिले दाउराको विकल्पमा अधिकांशले ग्यास चुलो प्रयोग बढाएको उहाँको अनुभव छ। सदरमुकामवरपर रहेको वन–जङ्गल हराभरा हुँदै गएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “फँडानीका कारण रित्ता रहेका पाखामा अहिले हराभरा वन हुँदै गएको छ। बिरुवा बढेर अहिले त पस्नै नसक्ने भएको छ वन।” जिल्लाका अधिकांश सामुदायिक वनले चरिचरनमा रोक लगाएका छन्। चरिचरन रोकिनुका साथै घाँसदाउरा गर्न गाउँले जङ्गल पस्न छोडेपछि प्राकृतिक रूपमै वन–जङ्गल हराभरा हुन थालेको स्थानीयको अनुभव छ।

“पहिले उपभोक्ताले नै लुकीछिपी फँडानी गरेर काठ काटेर वन सिध्याएका थिए। अहिले त्यो ठप्पजस्तै छ,” सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष हितलाल श्रेष्ठ भन्नुहुन्छ, “चोरलाई चाबी दिएपछि सामान नहराएकोजस्तै भएको छ।” सामुदायिक वनबाट हुने आम्दानीबाट स्थानीय समुदायले गाउँमा विद्यालय सञ्चालन, सडक, खानेपानी, सौर्य ऊर्जा तथा विद्युत् विस्तार र वैदेशिक रोजगारीमा जानेलाई ऋण सहयोग गरी सामाजिक विकासका कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो। 

सामुदायिक वनभित्र स्थानीय समुदायले फलफूल र जडीबुटी खेती गरी आयआर्जनसमेत गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। उहाँले भन्नुभयो, “सामुदायिक वनबाट हुने आम्दानीको ३० प्रतिशत रकम स्थानीय समुदायमा गरिबी निवारणको क्षेत्रमा र २५ प्रतिशत रकम वन व्यवस्थापनमा खर्च गर्नुपर्ने मार्गनिर्देशन रहेकामा त्यसलाई कडाइसाथ लागू गरिएको छ।” 

उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरी उपभोक्तालाई हस्तान्तरण भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हस्तान्तरण भइसकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलव ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलव ४२ हेक्टर क्षेत्रफल ओगटेको छ। दुई नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुली जिल्लामा आर्थिक वर्ष २०५१/५२ देखि सामुदायिक वन विकास कार्यक्रम लागु भएको कार्यालयले जनाएको छ।