• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभाको शून्य समय : मिटरब्यार पीडितको समस्या तत्काल समाधान गर्न माग

blog

राष्ट्रिय सभा बैठक ।

काठमाडौं, चैत १६ गते । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्नुहुँदै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरूसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गर्नुभएको हो । उहाँले सामन्तवादको अवशेषको रूपमा रहेको शोषणको नयाँ रूप मिटरब्याजको रूपमा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘सामन्तवादको अवशेषको रूपमा रहेको शोषण, सुदखोरको नयाँ रूप मिटरब्याजको रूपमा आएको नयाँ समस्यालाई हल गर्न ऐन, कानुन बनाउने सरकारको निर्णय स्वागतयोग्य छ । तर तत्काल समस्या समाधान गर्नका लागि सरकारले पीडितहरूसँग वार्ता, संवाद गरी तत्काल समस्या समाधान गर्न हार्दिक अनुरोध गर्न चाहन्छु ।’’

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदूरपश्चिममा कात्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुदूरपश्चिम भूकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यही कात्तिक २२ गतेदेखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको छ । कयौँको ज्यान जानुको साथै घरहरू चर्किएर, भत्किएर बस्न लायक अवस्थामा छैनन् । त्यहाँका नागरिकहरू डर र त्रासमा बाँचिरहेका छन् । त्यहाँका नागरिकहरूको सुरक्षा र राहतहरू प्रदान गर्नेतिर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै भूकम्पको उच्च जोखिममा रहेको सुदूरपश्चिममा अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउन समेत सरकारले ध्यान दिनुपर्ने तर्फ जोड दिन चाहन्छु ।’’

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन गर्ने प्रयास गरिएको भए पनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘‘नेपालको एकमात्र गौरवको रूपमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पले भत्कियो । भत्किएको संरचना केही अस्थायी प्रयासहरू अहिले भक्तपुरको पुरानो ठिमीमा ल्याएर गरिएको छ । किताबहरू छुन लायकका छैनन् । सामग्रीहरूमा किरा लागेको छ । ढुँडी परेको छ । शिक्षा मन्त्रालय कहाँ छ ? यो सरकारलाई म खोजी गर्न चाहन्छु ।,’’ उहाँले भन्नुभयो, ‘‘एक लाख ५० हजारभन्दा बढी सङ्ख्यामा रहेका हाम्रा सामग्रीहरू कुहिएर नष्ट हुने अवस्थामा हुँदा सरकारलाई त्यो प्रति चासो छैन र भूकम्प गएको यति वर्ष भइसकेको छ । विश्वका १०० राष्ट्र डिजिटाइजेशनमा गइसकेका छन् भने नेपालमा धुलो टकटक्याउने अवस्थामा पनि पुस्तकालय नरहेको हुनाले यसतर्फ सरकारको गम्भीर ध्यान जान आवश्यक छ ।’’

उहाँले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।