राममणि दाहाल
हेटौँडा, चैत १५ गते । बागमती प्रदेशको सहरी क्षेत्रको अनुपातमा पहाडी क्षेत्रमा जनसङ्ख्या वृद्धि दर घट्दै गएको देखिएको छ। राष्ट्रिय जनगणनाअनुसार २०६८ को तुलनामा २०७८ मा पहाडी क्षेत्रमा जनसङ्ख्या वृद्धि दर घटेको पाइएको छ। २०६८ देखि २०७८ को एक दशकको अवधिमा यस प्रदेशमा जनसङ्ख्या वृद्धि दर बढेको पाइए पनि पहाडी क्षेत्रको जनसङ्ख्या वृद्धि दर ऋणात्मक पाइएको नेपालको बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ ले देखाएको हो।
यस प्रदेशमा २०६८ को जनगणनाअनुसार जनसङ्ख्या ५५ लाख २९ हजार ४५२ रहेकोमा दस वर्षमा बढेर ६१ लाख १६ हजार ८६६ पुगेको छ र समग्रमा प्रदेशको जनसङ्ख्या वृद्धि दर ०.९७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
साथै यस प्रदेशको १३ जिल्लामध्ये चितवन, मकवानपुर, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाडौँ र रसुवा गरी सात जिल्लाको जनसङ्ख्या वृद्धि दर धनात्मक रहेको छ। जनसङ्ख्या वृद्धि दर ऋणात्मक रहेका जिल्लामा रामेछाप, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र दोलखा पर्छन्। यसैगरी देशमै सबैभन्दा बढी जनसङ्ख्या वार्षिक वृद्धि दर भएको जिल्लामा भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा बढी वार्षिक जनसङ्ख्या घट्ने दर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेको छ।
यस्तै प्रदेशको ११९ स्थानीय तहमध्ये ४६ वटा स्थानीय तहको जनसङ्ख्या वृद्धि दर धनात्मक र ७३ वटा स्थानीय तहको जनसङ्ख्या वृद्धि दर ऋणात्मक रहेको तथ्याङ्क छ। जनसङ्ख्या सबैभन्दा बढी दरमा घटेको पालिकामा काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका (–३.७६ प्रतिशत) र जनसङ्ख्या वृद्धि दर सबैभन्दा बढी रहेको पालिकामा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका (७.४१ प्रतिशत) रहेको छ।
दोलखा जिल्लामा २०६८ को जनगणनाअनुसार एक लाख ८६ हजार ५५७ जनसङ्ख्या रहेका थिए भने २०७८ मा एक लाख ७२ हजार ७६७ मा झरेको छ। दुई नगरपालिकासहित नौ पालिका रहेको दोलखामा जनसङ्ख्या वृद्धि दर बिगु, तामाकोशी, कालिञ्चोकलगायत सबै गाउँपालिकामा ऋणात्मक रहेको छ। सिन्धुपाल्चोक जिल्लामा २०६८ मा कुल जनसङ्ख्या दुई लाख ८७ हजार ७९८ रहेकोमा २०७८ को जनगणनामा दुई लाख ६२ हजार ६२४ पुगेको छ। १२ पालिका रहेको यस जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाबाहेक सबैको ऋणात्मक छ।
यस्तै हिमाली जिल्ला रसुवाको जनसङ्ख्या वृद्धि दर भने सबै पालिकामा धनात्मक रहेको छ। २०६८ मा ४३ हजार तीन सय जनसङ्ख्या रहेकोमा २०७८ मा बढेर ४६ हजार ६८९ जनसङ्ख्या पुगेको छ। धादिङ जिल्लामा २०६८ मा तीन लाख ३६ हजार ६७ जनसङ्ख्या थियो। २०७८ मा पुग्दा तीन लाख २५ हजार ७१० भएको छ। १३ पालिकामध्ये नौवटा पालिकामा जनसङ्ख्या वृद्धि दर ऋणात्मक छ।
उता नुवाकोट जिल्लामा २०६८ को जनगणनाअनुसार दुई ७७ हजार ४७१ जनसङ्ख्या भएकोमा २०७८ को जनगणनामा घटेको छ। अहिलेको जनसङ्ख्या दुई लाख ६३ हजार ३९१ रहेको छ। यस जिल्लाको १२ पालिकामध्ये १० पालिकामा ऋणात्मक जनसङ्ख्या वृद्धि दर भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। काठमाडौँ जिल्लाको २०६८ को जनसङ्ख्या १७ लाख ४४ हजार २४० रहेकोमा २०७८ मा बढेर २० लाख ४१ हजार ५८७ पुगेको छ। ११ वटा नगर रहेको काठमाडौँ जिल्लामा काठमाडौँ महानगरपालिकाबाहेकको नगरपालिकामा जनसङ्ख्या वृद्धि दर धनात्मक रहेको छ।
यसैगरी भक्तपुर जिल्लामा २०६८ मा जनसङ्ख्या तीन लाख चार हजार ६५१ रहेकामा २०७८ मा वृद्धि भई चार लाख ३२ हजार १३२ पुगेको छ। चारवटा नगरपालिका रहेको यस जिल्लामा भक्तपुर नगरपालिकाबाहेकका सबै नगरपालिकाको जनसङ्ख्या वृद्धि दर धनात्मक छ। तीन गाउँपालिकासहित छवटा पालिका रहेका ललितपुर जिल्लाको जनसङ्ख्या वृद्धि दर तीनवटै गाउँपालिको ऋणात्मक रहेको छ। २०६८ सालमा यस जिल्लाको जनसङ्ख्या चार लाख ६८ हजार १३२ रहेकोमा २०७८ मा पाँच लाख ५१ हजार ६६७ पुगेको छ।
यस्तै काभ्रेपलाञ्चोक जिल्लामा २०६८ को जनगणनाअनुसार तीन लाख ८१ हजार ९३७ रहेकोमा २०७८ को जनगणनामा घटेर तीन लाख ६४ हजार ३९ भएको छ। १३ पालिका रहेको यस जिल्लाको जनसङ्ख्या वृद्धि दर तीन पालिकाको मात्र धनात्मक छ। २०६८ मा रामेछाप जिल्लाको जनसङ्ख्या दुई लाख दुई हजार ६४६ रहेकोमा २०७८ मा घटेर एक लाख ७० हजार ३०२ भएको छ। यस जिल्लाको सबै पालिकाको जनसङ्ख्या वृद्धि दर ऋणात्मक छ।
सिन्धुली जिल्लाको जनसङ्ख्या २०६८ मा दुई लाख ९६ हजार १९२ रहेकोमा २०७८ मा बढेर तीन लाख २६ पुगेको तथ्याङ्क छ। नौ पालिका रहेको यस जिल्लाको जनसङ्ख्या वृद्धि दर तीनवटा पालिकाको मात्र धनात्मक रहेको देखिन्छ।
मकवानपुरको जनसङ्ख्या २०६८ मा चार लाख २० हजार ४७७ भएकोमा २०७८ मा वृद्धि भई चार लाख ६६ हजार ७३ भएको छ। १० पालिका रहेको यस जिल्लाको जनसङ्ख्या वृद्धि दर सात पालिकाको ऋणात्मक रहेको छ। २०६८ को जनगणनाअनुसार चितवन जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार ९८४ रहेकोमा २०७८ मा बढेर सात लाख १९ हजार ८५९ भएको छ। यस जिल्लाको सबै पालिकाको जनसङ्ख्या वृद्धि दर धनात्मक रहेको छ।