• १३ मंसिर २०८१, बिहिबार

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँगको भेटवार्तामा आफ्नो धारणा राख्नुहुँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल । तस्किर : नेपाल चेम्बर

काठमाडौं, चैत १४ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैङ्क वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताउनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवम् समग्र ऋणीहरू निकै मर्कामा परेका छन् । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघि ऋण लिएकाहरूले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’’

उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष मल्लले ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल ग्रार्हस्त उत्पादन जीडीपीको ४२ प्रतिशत हराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकासिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधारण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रूपमा आवाज उठ्न जरुरी भइसक्यो ।’’

अध्यक्ष मल्लले नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने बताउनुभयो ।  नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाइम कार्ड लागू गर्नुपर्ने मल्लको भनाइ छ ।

उहाँले मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने बताउनुभयो । डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा रास्वपाका सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाबाट मुक्त बनाउनुपर्ने बताउनुभयो । संसदमा आफूहरूले यो विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको सांसद श्रेष्ठको भनाइ छ ।

अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरू पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ । आफूहरू निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्नुहुँदै सांसद श्रेष्ठले अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरूमा निजी क्षेत्रको सुझावलाई पनि पार्टीले ग्रहण गर्ने बताउनुभयो । अर्का सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताउनुभयो ।

मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे भएको अन्तरक्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र रास्वपाका सांसदहरूको उपस्थिति थियो ।