• १२ मंसिर २०८१, बुधबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

blog

म्याग्दी, चैत १३  गते । म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका –६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं. ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो । 

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राति थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दाबी छ । मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।  रासस