• ८ वैशाख २०८१, शनिबार

दूषित पानी खाँदा तीन सय पचास जना बिरामी

blog

अमरराज नहर्की

तनहुँ, चैत १२ गते । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करिब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी  भएका हुन्  । 

म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा बिरामी भएको जानकारी दिनुभयो । उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना बिरामी भएको घिमिरे बताउनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । उहाँले तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी वैकल्पिक व्यवस्था पालिकाले गर्न लागेको जानकारी दिनुभयो ।

ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लास भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । नामथर वतन नखुलेकी महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक शर्माले बताउनुभयो । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्की जाँच गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अबदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । 

मृतकको लास पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताउनु भयो ।  केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्याङ्कीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो । “तीन दिन अघिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो । आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देखियो घिन मानेर स्थानीय बिरामी भएका छन्’’ सचिव मल्लले भन्नुभयो ।