रमेश पौडेल
पोखरा, चैत १० गते। गण्डकी सरकारबाट नेकपा (माओवादी) का दुई मन्त्रीले राजीनामा बुझाएका छन्। माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र वनमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्।
त्यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश सभामा बुझाइएको छ। गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएपछि अब मुख्यमन्त्री अधिकारीको सरकार समस्यामा परेको छ।
पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। यो सरकार निर्माणका सन्दर्भमा नेकपा (एमाले)का २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले मुख्यमन्त्री अधिकारीको पक्षमा मत परेको थियो।
माओवादीबाट समर्थन फिर्ता भएपछि अधिकारी अल्पमतमा पर्नुभएको छ। उहाँले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने स्थिति सिर्जना भएको छ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिनुभएको थियो।