• ११ मंसिर २०८१, मङ्गलबार

८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

blog

म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रियामा सहभागी विरामी । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ९ गते । हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न स्थानमा भएको घुम्ती शिविरबाट पहिचान भएका तथा बेनीमै भएको शिविरमा पहिचान भएका गरी कुल ८२ जनामध्ये ३ जना रोगीको दुवै आँखामा मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा म्याग्दीका सभापति अमरबहादुर बानियाँले जानकारी दिनुभयो । 

तीन दिनसम्म बेनीमा भएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको ओपिडी परीक्षणमा आठ सय ६९ जनाले आँखाको परीक्षण गराउनुभएको थियो । बेनी अस्पताल म्याग्दी परिसरमा सञ्चालित शिविरबाट ३५ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो । 

यसअघि नेत्र ज्योति सङ्घले रघुगंगा गाउँपालिकाको पाखापानीमा गरेको शिविरमा पाँच जना, मङ्गला गाउँपालिकाको कुहुँमा पाँच जना, बरंजामा ४ जना अन्नपूर्ण गाउँपालिकाको शिखमा ६ जना हिस्तानमा ६ जना र राम्चेमा ५ जना गरी ३१ जना पहिचान गरेको थियो । त्यस्तै रघुगंगाको भगवतीमा १० जना र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा ६ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको थियो । 

पोखरा व्यावसायिक महिला क्लब र नेत्रज्योति सङ्घ म्याग्दीको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अन्जु गुरुङको नेतृत्वमा ८ जनाले आँखाको चेकजाँच तथा शल्यक्रिया सेवा उपलब्ध गराएको थियो ।

शिविरमा आएका सर्वसाधारण तथा बिरामीमा आँखासम्बन्धी अन्य रोगको समेत पहिचान गरिएको छ । थप उपचारका लागि रिफर गरिएको नेत्रज्योती सङ्घ म्याग्दीले बेनीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रका प्रमुख एवं नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।