काठमाडौँ, चैत ९ गते । काठमाडौँ जिल्लास्थित नगरपालिकामा धमाधम प्रशासनिक कार्यालय भवन निर्माण भइरहेका छन्।
प्रशासनिक भवनको अभावमा दैनिक सेवा प्रवाहमा समस्या भएपछि जिल्ला समन्वय समिति काठमाडौँले जिल्लाभित्रका नगरपालिकाका र वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्न लागत साझेदारीमा बजेट प्रदान गरेको हो। समितिका प्रमुख सन्तोष बुढाथोकीले जिससको मौज्दात कोषबाट स्थानीय तहका प्रशासनिक भवन र केही नगरपालिकामा खानेपानीको योजना सञ्चालन भइरहेको बताउनुभयो।
उहाँका अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ३ र ७ को वडा कार्यालय भवन र सभा हल, शङ्खरापुर नगरपालिकाको प्रशासनिक भवन, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४, ६, ८, ९ वडा कार्यालय भवन निर्माण भएको र गोकर्णेश्वरमा नै तीनवटा खानेपानीको आयोजना सञ्चालन भइरहेका छन्। काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरमा खानेपानीको योजना, कीर्तिपुरमा प्रशासनिक भवनको बाँकी काम पूरा गर्ने र वडा नम्बर ६ र १० को वडा कार्यालय निर्माण भइरहेका हुन्। त्यस्तै टोखा, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माण भएको बुढाथोकीले बताउनुभयो।
दक्षिणकाली नगरपालिकाको प्रशासनिक भवन, कीर्तिपुर नपाको वडा नम्बर १ कार्यालय, वडा नम्बर ६ को खानेपानी आयोजना, कागेश्वरी मनोहरा नपाको वडा नम्बर १ को कार्यालय भवन र नागार्जुन नगरपालिकाको खानेपानी योजना सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको जिससले जनाएको छ।