• २६ वैशाख २०८१, बुधबार

टुँडिखेलको स्तरोन्नति

blog

तानसेन समाचारदाता

पाल्पा, चैत ८ गते । चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ।  

टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो। “टुँडिखेल मैदान निर्माणको काम सकिएको छ,” उहाँले भन्नुभयो, “दुबोको ‘लेभल’ नमिलेका कारण नगरपालिकामा हस्तान्तरण भएको छैन।”

नगरपालिकाले आव २०७६/७७ देखि टुँडिखेल मैदान सुधार योजनाअन्तर्गत खेल मैदानको सुधार काम गरिरहेको थियो। निर्माण व्यवसायीका कारण खेल मैदान निर्माण कार्यमा ढिला गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ। टुँडिखेल मैदानको छेउमा ज्येष्ठ नागरिक पार्क र बाल बगैँचासमेत बनाइरहेको छ। त्यसले टुँडिखेलमा घुम्न आएका नागरिकलाई समेत विश्राम गर्न सहज हुने नगरपालिकाले जनाएको छ। 

टुँडिखेलको दक्षिण भेगमा सार्वजनिक सभा समारोहका लागि छुट्टै मञ्चसहितको मैदानसमेत बनिसकेको छ। टुँडिखेलभित्र पशु चौपाया छिर्न नसक्ने गरी बारबन्देजसमेत गरिएको नगरपालिकाले जनाएको छ। मैदानको संरचनाले नगर कार्यपालिका कार्यालयलाई थप आकर्षक बनाउन सहयोग पुग्ने आचार्यले बताउनुभयो। 

तानसेन नगरपालिकाको तीन करोड ८२ लाख ९४ हजार रुपियाँको लागतमा मैदान सुधार गर्ने कार्य सुरु भएको थियो। मैदान निर्माणको काम छ महिनाअघि नै सकिए पनि नगरपालिकालाई हस्तान्तरण नभएको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। 

टुँडिखेल मैदानको स्तरोन्नतिको काम सकिएपछि फुटबल, भलिबल, क्रिकेटलगायतका खेल गतिविधिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। टुँडिखेल लामो समयसम्म नबन्दा खेलाडी तथा खेल सम्बद्ध सङ्घसंस्था निराश थिए। टुँडिखेल मैदान बनेपछि खेलका गतिविधि बढ्ने एन्फा पाल्पाका अध्यक्ष प्रणयजङ्ग राणाले बताउनुभयो। तानसेनमा खेल मैदान नहुँदा फुटबललगायतका खेल गतिविधि हुन नसकेको राणाले बताउनुभयो। हाल तानसेनमा उपयुक्त खेल मैदान नहुँदा खेलका गतिविधि माडी फाँटमा रहेको दमकडा र सराई खेल मैदानमा हुँदै आएको छ। केही महिनाअघि भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासमेत सराई खेलमैदानमा भएको थियो। मैदान बनेपछि भने खेलका गतिविधि सदरमुकाममै सञ्चालन गर्न सहज हुने खेलाडीहरू बताउँछन्।