• १२ मंसिर २०८१, बुधबार

अनलाइन साक्षरता अभियान सुरु गरौँ : मुख्यमन्त्री

blog

कास्की समाचारदाता

कास्की, चैत ७ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आमसञ्चार विधेयक पत्रकारमैत्री बन्नका लागि केही समय पर्खिनुपर्ने बताउनुभएको छ। अनलाइन पत्रकार सङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो। 

“कानुन बनाउनका लागि मात्र बनाएर अर्थ छैन, केही समय पर्खनुहोस्। आमसञ्चार विधेयक पत्रकारमैत्री बनाउनेछौँ,” उहाँले भन्नुभयो। मुख्यमन्त्री अधिकारीले पत्रकार पत्रकारजस्तै हुनुपर्ने धारणा राख्नुभयो। “पत्रकार विज्ञापन उठाउन जानुहुँदैन। पत्रकारको काम समाचार लेख्ने हो। आफ्नो सीमामा बसियो भने बल्ल काममा गुणस्तर आउँछ,” उहाँले भन्नुभयो। अनलाइनसम्बन्धी जानकारी सबैमा नहुँदा समस्या आएको उहाँले बताउनुभयो।

उहाँले अनलाइनसम्बन्धी साक्षरता अभियान सुरु गर्नका लागि आग्रह गर्नुभयो। “अनलाइन साक्षरतासम्बन्धी कक्षा सुरु गरौँ, सबैले जानकारी लिन सके पो गुणस्तर आउँछ। त्यसका लागि प्रदेश सरकार साथमा छ,” उहाँले भन्नुभयो। 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले अनलाइन पत्रकारितासम्बन्धी बुझाउन आवश्यक देखिएको बताउनुभयो। उहाँले अनलाइन मिडिया हो भनेर धेरैलाई थाहा नभएको तर्क राख्नुभयो। 

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले बनाउने आमसञ्चारसम्बन्धी विधेयक पत्रकारमैत्री हुनुपर्ने धारणा राख्नुभयो। उहाँले अनलाइन दर्ता प्रक्रिया निकै झन्झटिलो हुने भएकाले प्रदेशबाट त्यसको समाधान खोजिनुपर्ने बताउनुभयो। 

पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले अनलाइन पत्रकारिता नभई नहुने विषय भएको बताउनुभयो। उहाँले अनलाइन पत्रकारितालाई व्यवस्थित र सुधारिएरलानुपर्ने बताउनुभयो।