अमरराज नहर्की
तनहुँ, चैत ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनमा आफूले उम्मेदवार दिने बताउनुभएको छ। आँबुखैरेनी बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जिल्लाको सबैभन्दा सिनियर नेता भएकाले पार्टीले आफूलाई नै टिकट दिने दाबी गर्नुभयो।
पार्टीका साथीभाइ, मतदाता र शुभचिन्तक सबैसँग भेट हुँदा आफूलाई उम्मेदवार बन्न ऊर्जा र हौसला मिलेको बताउँदै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो उत्तराधिकारीका रूपमा आफूलाई उभ्याएको खुलासा गर्नुभयो।
“तीन कार्यकाल केन्द्रीय कार्य सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुण दलको महासचिव भएँ,” भट्टराईले भन्नुभयो, “दुई भ्रातृ संस्थाको मुख्य स्थानमा बसिसकेको हुनाले तनहुँ–१ मात्रै होइन, देशकै राजनीतिमा पहुँच स्थापित गर्नका लागि म उम्मेदवार बन्छु।” तनहुँ–१ कांग्रेसको भागमा परेकाले अरू पार्टीले दाबी गर्न नमिल्ने भट्टराईको भनाइ छ। नेता भट्टराईले तनहुँ जिल्ला नेता आयात गर्ने नभई निर्यात गर्ने जिल्ला भएको बताउनुभयो।
बजारमा उम्मेदवारको नाम सुन्दा राजनीतिक हिसाबले आफूभन्दा जुनियर रहेकाले आफ्नो उम्मेदवार लगभग निश्चित भएको दाबी उहाँले गर्नुभयो। तनहुँ–१ बाट पूर्र्वप्रधानमन्त्री बाबुराम भट्टराई वा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने चर्चा चलेको सम्बन्धमा नेता भट्टराईले बाहिरबाट उम्मेदवार ल्याए गम्भीर प्रतिरोध हुने बताउनुभयो। “कार्यकर्ता र मतदाताबाट गम्भीर प्रतिरोध हुन्छ, पानीको पाइप ल्याउनु छैन। एक हजारको एउटा योजना हाल्नु छैन, मेरो दाबी हुन्छ भनेर भन्न मिल्दैन,” भट्टराईले भन्नुभयो।
कहीँकतै सहयोग नगरेको व्यक्तिले टिकटका लागि आँखा लगाउनु नाजायज विषय हो। नाजायज भएको व्यक्ति उम्मेदवार बनेर आउँछ भने गम्भीर रूपमा प्रतिरोध हुन्छ,” भट्टराईले थप्नुभयो।
विगतको जस्तो तिक्तता, झगडा कांग्रेसमा नहोस् भन्नका लागि तनहुँको कांग्रेस एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो रहेकाले त्यसप्रति आफू सक्रिय रहेको भट्टराईले बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस आँबुखैरेनीका नेताहरू चिजादेवी श्रेष्ठ, शालिग्राम अधिकारीलगायतका स्थानीय नेताले विकासको काममा धेरै योगदान दिएको अग्रपङ्क्तिको नेता भएकाले जित हासिल गर्न सहज हुने हुँदा भट्टराईलाई टिकट दिँदा उपयुक्त हुनेमा जोड दिनुभयो। तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि जिल्लामा नेताहरू टिकटका लागि दौडधुप गरिहेका छन्।