काठमाडौं, चैत ६ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बर्न वार्डका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ। एक्सन एड नेपालको सहयोगमा बर्न भोइलेन्स सर्भाइभर (बि.भि.एस.) नेपालले सोमबार अस्पतालको बर्न वार्डका लागि उपकरण हस्तान्तरण गरेको हो।
वार्डका लागि आवश्यक आठ वटा बर्न बेड, बिरामी सार्ने ट्रली, ड्रेसिङ ट्रली, प्यासेन्ट मोनिटर, फोल्डेबल चेयर, बेड साइट लकर, निबुलाइजर, सेक्सन मेसिन, सेन्ट्रिफ्यूज मेसिन, काड्रिया टेबललगायत सामग्री हस्तान्तरण गरिएको वि.भि.एस. नेपालका कार्यक्रम संयोजक दीपेन्द्र तिवारीले जानकारी दिनुभयो।
बर्न वार्डका लागि स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन, प्राध्यापक ईश्वर लोहनीले बर्नका बिरामीको उपचार निकै महँगो हुने भएकाले प्राप्त यस्ता उपकरणले उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
वि.भि.एस. नेपालका कार्यक्रम निर्देशक प्रतीक्षा गिरीले अग्निजन्य हिंसाका घटनामा परेका व्यक्तिको उपचार खर्चिलो भएकाले उपचारका लागि राजधानी आउन बाध्य भएको बताउनुभयो। शिक्षण अस्पतालमा हाल नौ शैय्याको बर्न वार्ड सञ्चालनमा छ।
वि.भि.एस. नेपालले शिक्षण अस्पतालसँगै बर्नका बिरामीको उपचार हुने पाटन अस्पताल, कान्ति बाल अस्पताल, पूर्वमा प्रादेशिक अस्पताल जनकपुर र पश्चिमको भेरी अस्पतालका लागि समेत अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गर्दै आएको जनाएको छ।