चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत ६ गते । कैलालीमा नौवटा क्याम्पसमा स्ववियु चुनावको नतिजा सोमबार सार्वजनिक भएको छ । आइतबार मतदान सकिएलगतै मतगणना सुरु गरिए पनि अधिकांश क्याम्पसमा आइतबार राति नै नतिजा सार्वजनिक भए पनि धेरै मतदाता भएका घोडाघोडी, ऐश्वर्य बहुमुखी क्याम्पसमा भने सोमबार मतगणना सकिएको हो ।
घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अखिल (क्रान्तिकारी) का प्रेमबहादुर सहकारी विजयी हुनुभएको छ । सहकारीले ४९८ मत प्राप्तगरी विजयी हुनुभएको छ । सचिवमा अनेरास्ववियुका हुकुम आचार्य र कोषाध्यक्षमा नेविसंघका हेलन बिनाडी विजयी हुनुभयो । घोडाघोडीमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले गठबन्धन गरेको थियो । उक्त क्याम्पसमा एक हजार ३९६ मत खसेको थियो ।
चौमाला बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का हरेन्द्र बुढा विजयी हुनुभएको छ । बुढाले १६१ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नवराज साउँदले १२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रमेशप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त क्याम्पसमा ३३५ मत खसेको थियो ।
त्यसैगरी लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै कल्पना तिमिल्सेना विजयी हुनुभएको छ । उहाँले १६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी मायाराम खत्रीले ११० मत प्राप्त गर्नुभयो । उक्त क्याम्पसमा ५७४ मत खसेको थियो । खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै पुष्कर अवस्थी विजयी हुनुभयो ।
राष्ट्रिय कलेज सुखडमा अखिल (क्रान्तिकारी) का सुन्दर गौतम स्ववियु अध्यक्षमा विजयी हुनुभएको छ । बुलबुले बहुमुखी क्याम्पस पहलमानपुरमा अनेरास्ववियुका पुष्पा खाती विजयी हुनुभएको छ । त्यसैगरी जोशीपुर स्थित रघुनाथ बहुमुखी क्याम्पसमा अखिल(क्रान्तिकारी) का विनीता चौधरी विजयी हुनुभएको छ । भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसमा समेत अखिल (क्रान्तिकारी) का अर्जुन खत्री विजयी हुनुभएको छ ।
धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुबेर खड्का अध्यक्षसहित प्यानल विजयी भएको जनाइएको छ । कैलालीका नौवटा क्याम्पस मध्ये लम्की र बुलबुले क्याम्पसले स्ववियु अध्यक्ष महिला पाएको छ ।