• १२ वैशाख २०८१, बुधबार

एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : माओवादी सांसद पौडेल

blog

सोमबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ६ गते। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाउनुभएको छ। जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमतिविपरीत अघि बढिरहेको उहाँको भनाइ छ। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत अनुसार राष्ट्रिय सहमतिको कुरा गर्दा एमाले किन भागेको भन्दै प्रश्न गर्नुभएको हो। सांसद पौडेलले सहमतिको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वाभाविक भए पनि एमालेले त्यसलाई लत्याएको आरोप लगाउनुभएको हो। 

उहाँले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाउनुभयो। त्यस अवसरमा उहाँले संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोड्ने अवस्था आएको बताउनुभयो। 

सांसद पौडेलले भन्नुभयो, ‘‘नेकपा (एमाले)सँग मेरो अनुरोध छ, नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईंले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ ? दोस्रो दललाई सहमति चाहियो। पहिलो दललाई समेत सहमति गरेर जाउँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो ? इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं।’’ 

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक सङ्कटबाट जोगाउन पनि दलहरुबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो।